Breaking News.... EverestOnlineKhabar
May 11, 2026

किशोर थापाको चुनाव चिह्न ‘क्यामेरा’, रञ्जु दर्शनाको ‘इस्टकोट’

Loading

काठमाडौं, वैशाख २२ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनका उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै शुक्रबार चुनाव चिह्न प्रदान गरेको छ ।

३४ जिल्लाका २८३ स्थानीय तहमा कुल ४९ हजार ७५४ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।

आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरुका उम्मेदवारलाई दलीय चुनाव चिह्न र अरु उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारको चिह्न प्रदान गरेको हो ।

यता, काठमाडौं निर्वाचन कार्यालयले पनि काठमाडौंका विभिन्न स्थानीय तहका लागि मैदानमा उत्रिएका उम्मेदवारहरुलाई शुक्रबार चुनाव चिह्न प्रदान गरेको छ ।

राष्ट्रियसभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेपछि चुनाव चिह्न प्रदान गरिएको हो ।

निर्धारितसमयभन्दा अबेर निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेको थियो । निर्वाचन कार्यालयले ढिलाइ गरेको भन्दै उम्मेदवारहरुले नाराबाजीसमेत गरेका थिए ।

काठमाडौं महानगरपालिकाको मेयरमा २८ जना र उपमेयरमा १८ जनाले चुनाव चिह्न लिएका छन् ।

स्वतन्त्र उम्मेदवारहरुका लागि भने क्यामेरा, पंखा, इँटा, बिरालो, शंख, चेसबोर्ड, ठेकी, ढिकी, ढाकाटोपीलगायतका चिह्न प्रदान गरिएको छ ।

काठमाडौंको मेयरमा साझा पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वसचिव किशोर थापाले ‘क्यामेरा’ चुनाव चिह्न प्राप्त गरेका छन् भने विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ‘इस्टकोट’ चिह्न प्राप्त गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.