![]()
इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अबको बाटो आर्थिक समृद्धि भएको स्पष्ट पार्नुभएको छ ।
मुख्यमन्त्री राईले इटहरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देशले संविधान निर्माणसँगै नेपाली जनतालाई समृद्धिको मार्गतर्फ अघि बढाउन तीन तहको सरकारको समेत चुनाव सम्पन्न गरी नयाँ नीति बजेट र कार्यक्रम धमाधम ल्याउने कार्य गरेको बताउँदै योजना प्रभावकारी बन्न नसक्लाकी भन्ने प्रश्न उब्जनु् स्वभाविक हुनेतर्फ आफूहरु सचेत रहेको उल्लेख गर्नुभयो । उहाँले सबै योजनालाई कार्यान्वयनमा लगी प्रदेशसहित मुलुकलाई नै समृद्ध बनाउने बिश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले कतिपय सन्दर्भ र विषयमा जनअपेक्षित बजेट व्यवस्थामा ध्यान नपुग्नु प्रभावकारी कार्यक्रममार्फत जनताको घरदैलोमा परिवर्तनको अनुभूति पुग्न नसकेकोतर्फ पनि प्रदेश सरकारले गम्भीर भएर प्रादेशिक बजेट नीतिमा पुनरावलोकन गरिरहेको उल्लेख गर्नुभयो ।
अहिले पहिलो चरणमा नै संघीयताको सफल कार्यान्वयन गर्ने मार्गमा आफैँले नीति योजना एवं ऐन नियम बनाएर अघि बढ्ने अवस्थामा रहेकाले जनअपेक्षित सफलता प्राप्तिमा कमी कमजोरी देखिन सक्ने उहाँले बताउनुभयो ।


