![]()
काठमाडौं, वैशाख २२ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुलाई ‘रचनात्मक’ बन्न आग्रह गरेका छन् ।
बैंकको पुँजीको आकार बढेको र त्यसले प्रतिस्पर्धासमेत बढाएको भन्दै रचनात्मक भएर अगाडि आउन उनले आग्रह गरेका हुन् ।
डेभलपमेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै गभर्नर नेपालले प्रमुख कार्यकारीहरुलाई आधुनिक सोचका साथ चल्न आग्रह गरे ।
उनले आधुनिक बन्न नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न सुझाव पनि दिए ।
आधुनिक बन्न नियामक निकायले भन्ने नभइ स्वयं बैंकहरु आधुनिक बन्नुपर्नेतर्फ ध्यान दिन पनि उनले आग्रह गरे ।
गभर्नर नेपालले नयाँ बाफिया नीतिमा ५ किसिमका वित्तीय संस्था हुने व्यवस्था रहेको बताए ।
पूर्वाधार विकास बैंक नयाँ वर्गको बैंककोरुपमा थपिएको उनले बताएका हुन् ।
उनले हाल करिब ४० प्रतिशत जनतामामात्रै वित्तीय पहुँच पुगेको भन्दै वित्तीय पहुँच बढाउन पनि उनले बैैंकिङ क्षेत्रलाई आग्रह गरे ।


