![]()
ल्हासा,असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेको ओलीको दावी छ । उत्तरी छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा रासससँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताए । ओलीले भनेः‘ स्वाभाविकरुपमा चीन हाम्रो लगत्तैको मित्रराष्ट्र मात्र होइन, एउटा भरपर्दो तथा सधैँको सहयोगी मित्र राष्ट्र हो । कुनै समस्या नभएको मित्रराष्ट्र हो र हामीलाई सहयोग गर्दै आएको मित्रराष्ट्र हो । यसभन्दाअघि सन् २०१६ को मार्चमा मैले चीन भ्रमण गरेका बेला जुन सहमति भएको थियो, जुन संयुक्त प्रेस विज्ञप्ति प्रकाशित भएको थियो । त्यस बेलाका कुरा नै ऐतिहासिक कुरा हुन् । नेपाललाई नयाँ युगमा प्रवेश गराउने र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ती सम्झौता संयुक्त विज्ञप्तिले देखाएका थिए । तीनै सम्झौतालाई आगडि बढाउने र अरु थप समयानुकूल लिने हाम्रा आवश्यकता हुन् । तदअनुसार नै हामीले कुराकानी गर्यौँ, हामी यथार्थमा आशावादी नहुनुपर्ने कारण नै छैन ।
हामी आशावादी भएका छौँ । हाम्राबीचमा भएका थुप्रै सहमतिहरु र संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा त्यो विषय उल्लेख भएको छ । सरकारी क्षेत्र र निजी क्षेत्रको लगानी अभिवृद्धि र सरकारी क्षेत्रका सहयोगका पक्षहरु सबै कुरामा हामी अगाडि बढेका छौँ । त्यसमा कोही पनि असन्तुष्ट हुनुपर्ने कारण नै छैन ।’
चीनसंग भएको रेल सम्झौता बारे प्रधानमन्त्रीले भनेः‘ अवश्य नै यो सर्वेक्षण गरिनसकेको विषय हो । अहिलेसम्म हाम्रो इच्छामा निर्भर रहेको विषय हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौँसम्म रेल पुर्याउने आफ्नो भिजनका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । यो रेल सिगात्से पुगेको छ, अब त्यहाँबाट केरुङ हुँदै काठमाडौँ र पोखरा तथा लुम्बिनीसम्म पुग्ने हो । अहिलेको हकमा काठमाडौँ न्यूनतम गन्तव्य हो।
यसमा मानिसहरु अनौठो के मान्छन् भने दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर हामीले इनल्याण्ड वाटरवेज (आन्तरिक जलमार्ग) को कुरा गर्दा, नदीको बाटोबाट पानीजहाज चलाउँदा पनि अनौठो माने मान्छेले, तर हामी काम गर्दैछौँ र हामी छिटो नै शुरु गर्दैछौँ । हामीले बन्दरगाह चलाउँछौँ, पानीजहाज चलाउँछौँ भन्दा पनि अनौठो माने । हामीले वैकल्पिक मार्गहरु र पारवहनको बन्दोबस्त गर्छौँ भन्दा अनौठो माने । अरु कतिपय हामीले नेपाललाई आधुनिक युगमा स्तरोन्नति गर्ने कुरा गर्दा अनौठो माने, तर यो अनौठो मान्नुपर्ने कुरा होइन ।
अबको समयमा राजनीतिक र कूटनीतिक सम्बन्धका हिसाबले प्रणाली, सामाजिक प्रबन्धका हिसाबले, सुशासनका हिसाबले अथवा आर्थिक विकासका हिसाबले कसरी अगाडि जाने नेपाल ? त्यसैले मैले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको हो । त्यो अकारण छैन । त्यसैअन्तर्गत हाम्रो रेलको सम्बन्धमा कुनै देशबाट ल्याएर हाम्रो सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन । पूर्व–पश्चिम रेलको कुरा, राजधानीसम्म आउने रेलको कुरा, काठमाडौँ–पोखरा जाने रेलको कुरा, काठमाडौँ उपत्यकाभित्र चल्ने रेलको कुरा, अथवा थालकोट–धुलिखेल चल्ने रेल अथवा काठमाडौँ–वीरगञ्ज चल्ने रेलको कुरा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने कनेक्टिभिटी (सम्पर्क सञ्जाल) हो । सम्पर्क सम्बन्धका, आवागमनका, परिवहनका सबै माध्यम र सूचना र सम्बन्धका सबै क्षेत्रलाई आधुनिक ढंगबाट विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसो भएकाले रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ र यसको अध्ययन टुंग्याउने र कामहरु अगाडि बढाउने अवधारणामा हामी गएका छौँ ।’


