![]()
काठमाडौ,असार ।
नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट छिट्टै हट्ने भएको छ । विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू)को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको हो । इयू अन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।
नेपाल आइकाओको गम्भीर सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई उडान सुरक्षामा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द अधिकारीले गत शुक्रबार प्रतिनिधिसभा बैठकमा उडानसम्बन्धी समसामयिक विषयमा सांसदले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै नेपालको हवाई क्षेत्र इयूको खतरासूचीबाट छिट्टै हटाउन पहल गरिने प्रतिबद्धता जनाएका थिए ।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको वायुसेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउँदै अबको तीन महिनाभित्र इयूको कालोसूचीबाट पनि हट्ने विश्वास व्यक्त गरे । सुरक्षा चासो जनाउने इयूले नेपाली वायु यानलाई युरोपका आकासमा उड्न प्रतिबन्द लगाएको थियो । आइकाओको उडान सुरक्षा अडिटको नतिजापश्चात् नेपाल सरकारले इयूलाई नेपाली वायुसेवालाई उक्त सूचीबाट हटाउन आग्रह गरिसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उडान सुरक्षाका सम्बन्धमा नेपालले सबै प्रगति प्रतिवेदन इयूलाई पठाइसकेकाले चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरे । इयूको एयर सेफ्टी सूचीमा रहेसम्म नेपालका कुनै पनि वायुयानले युरोपका आकासमा उडान गर्न पाउँदैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चाँडै नेपाल भित्र्याउन लागेको दुई वाइडबडी विमानमार्फत जापानलगायत युरोपका गन्तव्यमा उडान भर्ने योजना छ । तर, इयूको कालोसूचीबाट नहटेसम्म निगमले जापान गन्तव्यमा उडान भर्न नसक्ने प्राधिकरणका महानिर्देशक गौतमको भनाइ छ ।


