![]()
एजेन्सी । विश्वकप अन्तर्गत नाइजेरियाले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेपछि सोही समूहको अर्को सदस्य आर्जेन्टिनाको दोस्रो चरणमा पुग्ने सम्भावना केही बढेको छ। भोग्लोगार्ड एरिनामा भएको खेलमा अहमद मुसाले मध्यान्तरपछिको खेलमा दुई गोल हानेका थिए।
मंगलवार नाइजेरिया र आर्जेन्टिनाबीच सेन्टपिटर्सवर्गमा भिडन्त हुँदैछ, जसको परिणामले उक्त समूहबाट कुन देश दोस्रो चरणमा पुग्नेछ भन्ने निर्क्योल गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई पराजित गर्ने क्रममा खेलका नायक अहमद मुसा रहे। उनले प्राविधिक रूपमा उत्कृष्ट कौशल देखाउँदै दोस्रो गोल गरेका थिए। अन्तिम समयमा पाएको पेनाल्टीको अवसर आइसल्याण्डले गुमाएको थियो।
उक्त परिणामले समूह चरणबाटै घर फर्कन लागेको भनेर टिप्पणी गरिँदै आएको आर्जेन्टिनालाई प्रतियोगितामा रहिरहने झिनो आशा दिलाएको छ। समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई हराए आर्जेन्टिना सुरक्षित रूपमा दोस्रो चरण पुग्न सक्नेछ। तर त्यसका लागि अर्को खेलमा आइसल्याण्ड हाल समूह विजेता रहेको क्रोएसियासँग पराजित हुनुपर्नेछ। आइसल्याण्ड उक्त खेलमा विजयी भए गोल अन्तरले दोस्रो चरणमा को पुग्नेछ भन्ने निर्धारण गर्नेछ।
आर्जेन्टिनालाई हराए नाइजेरिया दोस्रो चरणमा पुग्नेछ।


