Breaking News.... EverestOnlineKhabar
July 9, 2026

सशस्त्रकै गाडीमा अवैध रुपले काठ ओसार्ने सशस्त्र प्रहरीका डिएसपीसहित ४ जना निलम्बनमा

Loading

काठमाडौ,जेठ ।
अवैध रुपले काठ ओसार्ने कार्यमा संलग्न रहेको अभियोगमा सशस्त्र प्रहरीले एक डिएसपीसहित ४ जनालाई निलम्बन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीसहित ४ जनालाई निलम्बन गरिएको प्रवक्ता डिआइजी बाबुराम पाण्डेले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेका भण्डारीसहित ४ जना प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई तथा सो गाडीका चालक दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको उनले बताए।
उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो ।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भिर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसिना सदस्य रहेका छन् ।
प्रारम्भिक छानवीनबाट ती सशस्त्र प्रहरी कर्मचारीहरुले कुनै पनि निकायमा कुनै जानकारी समेत नगराई संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएपछि उनीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको हो । छानवीन समितिले स्थलगत अध्ययन गर्नुका साथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरुको दोष देखिन आएको प्रतिवेदन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.