![]()
बीबीसी । अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगमा आजीवन कैद सजाय काटिरहेकी एक ६३ वर्षीया हजुरआमा राष्ट्रपतिले क्षमादान गरेपछि रिहा भएकी छन्। अलाबामाको पिकेन्स काउन्टीस्थित जेलबाट निस्किँदा एलिस जनसन र उनको पारिवारका सदस्यबीच भावपूर्ण पुनर्मिलनको दृश्य देखिएको थियो।
जनसनको रिहाइका लागि टेलिभिजन स्टार किम कार्दाशियन वेष्टले राष्ट्रपतिसमक्ष पहल गरेपछि उनको मुद्दा चर्चामा आएको थियो। गत हप्ता कार्दाशियन वेष्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेकी थिइन्।
ह्वाइट हाउसले भनेको छ, जनसन कैदीहरूका लागि उदाहरणीय थिइन् र आफूलाई पुनर्स्थापित गर्न उनले कडा मेहनत गरेकी थिइन्। सन् १९६६ मा कोकिन वितरण समूहको एउटा हिस्सा भएको आरोपमा अन्य १५ जनासहित उनले पनि जेल सजाय पाएकी थिइन्।

टेनसीमा उनीहरूमाथि लागुऔषध राखेको र कालोधनलाई सेतो बनाएको आरोप पनि लागेको थियो। ह्वाइट हाउसको विज्ञप्तिमा अगाडि भनिएको छ, अपराधप्रति कडा रवैया अपनाउनुपर्नेमा यो प्रशासनको विश्वास छ। तर जेलमा बस्दा राम्रो गर्न प्रयत्न गर्नेलाई अर्को मौका दिनुपर्छ भन्नेमा पनि हाम्रो विश्वास छ।
प्रेरणादायी
ट्रम्पले सत्ता सम्हालेयता बाँकी सजाय माफी पाउने एलिस जनसन सातौँ व्यक्ति हुन्। चर्चित व्यक्तित्वले पहलकदमी लिएपछि ट्रम्पबाट बाँकी सजाय माफी भएको चाहिँ यो दोस्रो घटना हो। जनसनलाई माफी दिइएको ह्वाइट हाउसको घोषणा लगत्तै कार्दाशियन वेष्टले प्रेरणादायी भन्दै ट्वीट गरेकी छन्।


