![]()
एजेन्सी,जेठ ।
साउदी अरबले यसअघि घोषणा गरे अनुसार सोमबार १० महिला नागरिकलाई ड्राइभिङ लाइसेन्स प्रदान गरेर ऐतिहासिक कदम उठाएको छ । महिलाहरुलाई सवारी चलाउनमाथि लगाइएको प्रतिबन्ध हटाउन २० दिन अगावै सरकारले लाइसेन्स दिएर सबैलाई अचम्मित बनाएको संचार एजेन्सी द न्युयोर्क टाइम्सले जनाएको छ ।
यसअघि थुप्रै महिला कार्यकर्ताहरुले सरकारसमक्ष महिला अधिकारको माग गर्दै प्रदर्शन गरेपछि उनीहरुले राष्ट्रको सुरक्षा र स्थिरतालाई कमजोर बनाइरहेको आरोप लगाउँदै सरकारले तिनीहरुलाई पक्राउ गरेको थियो । यस घटनापछि धेरैले सरकारले यसअघि महिला अधिकारको समर्थनमा दिएको वचन पूरा गर्नेमा शंका व्यक्त गरिरहेका थिए ।
तर सोमबार अचानक सरकारी प्रेसले यस्तो निर्णय सुनाएपछि सामाजिक संजालमा अहिले ती महिलाहरुले लाइसेन्स प्राप्त गरिरहेको भिडियो भाइरल बनेको छ । यसरी पहिलोपटक आफ्नो नामको लाइसेन्स पाउँदा यसबारे त्यहाँका महिलाहरुले भने वर्षौँदेखिको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरिरहेका छन् । यसअघि सामाजिक जीवनमा महिलाहरुलाई सिमित स्थान मात्र दिने गरेको साउदीले अर्को हप्ता थप २ हजार महिलाहरुलाई लाइसेन्स प्रदान गर्ने तयारी गरिरहेको समेत बताएको छ ।
राजकुमार मोहोम्मद बिन सलमानले देशमा आधुनिक सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै पछिल्लो समय साउदीको रुढीवादी नियमहरुमा अप्रत्याशित बदलाव गरिरहेका छन् । उनको सो योजनाको विश्वभर समर्थन र प्रशंसा भइरहेको छ ।


