Breaking News.... EverestOnlineKhabar
October 3, 2026

थाइल्याण्डमा ८० वटा प्लास्टिकका झोला खाएको ह्वेलको मृत्यु

Loading

बीबीसी । दक्षिणी थाइल्याण्डमा ८० वटा प्लास्टिकका झोला खाएको एउटा ह्वेल मृत अवस्थामा फेला परेको थाइ नौसेनाले जनाएको छ। सोङख्ला प्रान्तको एउटा नहरमा संरक्षण अधिकारीहरूले सो ह्वेललाई जोगाउने प्रयास गर्दा उसले ५ वटा प्लास्टिकको झोला बान्ता गरेको थियो। ती प्लास्टिकको झोलाको तौल ८ केजी रहेको थियो।

नौसेनाका एकजना विज्ञले शरीरभित्र भएका प्लास्टिकका कारण उक्त ह्वेललाई आफ्ना आहरा खाना असम्भव भएको बताए। हालैको एउटा अध्ययनले हस्तक्षेप नगरिए अबको एक दशकमा समुद्रमा प्लास्टिकको मात्रा तीन गुणाले बढ्ने चेतावनी दिएको थियो।

थाइल्याण्ड विश्वमै बढी प्लास्टिकको झोला प्रयोग हुने देशमध्ये हो र त्यहाँको सरकारले अघिल्लो महिना प्लास्टिकमा थप शुल्क लगाउने घोषणा गरेको थियो।

थाइलेण्ड

थाइल्याण्डमा प्लास्टिकका कारण बर्सेनि सयौँ समुद्री जीवहरूले ज्यान गुमाउने गरेको बताइन्छ। अघिल्लो सोमवार उक्त सानो भाले ह्वेल अशक्त र पौड्न नसक्ने अवस्थामा ना थापस्थित नहरमा फेला परेको थियो।

सहयोग

वातावरण अधिकारीहरूले डुङ्गा प्रयोग गरी उक्त ह्वेललाई तैरन मद्दत गरेका थिए र उसलाई घामबाट जोगाउन एउटा छहारी समेत निर्माण गरिदिएका थिए। उनीहरूले ह्वेलको स्याहारसुसार गरे पनि शुक्रवार अपरान्ह उसको मृत्यु भएको थियो।

नौसेनाका जीवशास्त्री थोन थामरोङनावासोवातले एएफपीसमाचार संस्थासँग शरीरमा बढी प्लास्टिक भएकाले उक्त ह्वेलको मृत्यु भएको बताए। उनले भने, “यदि तपाईँको शरीरमा ८० वटा प्लास्टिकको झोला छ भने तपाईँ बाँच्न सक्नुहुन्न।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed