![]()
काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम नेपाल आर्मी क्लबले लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले आफ्नो तेस्रो खेलमा प्रदेश नम्बर ४ लाई ९ विकेटले पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले सहज जित हात पारेको हो । ७६ रनको झिंनो चुनौति पछ्याउदै ब्याटिङ गरेको आर्मीले १६.४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । आर्मीका लागि अनिल मण्डलले अविजित २८, सागर पुनले २६ र नरेश बुढाऐरले अविजित १० रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले २९ ओभरमा सबै विकेटको क्षतिमा ७५ रन मात्रै बनाएको थियो । प्रदेश चारका लागि अनिल गुरुङले अविजित ४२ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
प्रदेश चारलाई सस्तैमा समेट्ने क्रममा आर्मीका विक्रम शोव, शाहव आलम र सागर पुनले समान ३–३ विकेट लिए । लगातार तीन खेलमा जित हात पारेको आर्मी एक खेल अघि नै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै, अर्को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश ६ लाई ९ विकेटले पराजित गरेको छ । ५६ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको प्रदेश ५ ले १०.४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । प्रदेश ५ का लागि शंकर राणाले २९ र सन्दीप सुनारले २७ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले २२.५ ओभरमा सबै विकेटको क्षतिमा ५५ रन मात्रै बनाएको थियो । प्रदेश ६ का लागि विजय विष्टले १७ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् ।
बलिङतर्फ प्रदेश ५ का शक्ति गौचन र विक्रम भूषालले समान ३–३ विकेट लिए । पराजित प्रदेश ६ प्रतियोगिताबाटै बाहिरिएको छ ।


