Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । सीमावर्ती गाउँ पानमुन्जोममा अप्रत्याशित रूपमा उत्तर कोरियाली नेता किम जङ-अनसँग भएको भेटवार्तामा आफूले खुलेर विचारहरू आदानप्रदान गरेको दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले बताएका छन्।

दक्षिण कोरियाका राष्ट्रपतिको वक्तव्यमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचको शिखर बैठकलाई सफल पार्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ। यसअघि पूर्वनिर्धारित बैठकको मिति रद्द भएको बताएका राष्ट्रपति ट्रम्पले पछि उक्त वार्ता तोकिएकै समयमा हुने सम्भावना रहेको पनि उल्लेख गरेका थिए।

ह्वाइट हाउसले सम्भावित शीर्ष बैठकको तयारीका लागि एउटा टोली सिंगापुर पठाउँदैछ।

वार्ता

किम जङ-अन र राष्ट्रपति मूनको आकस्मिक बैठकले दुवै नेताहरू वार्ता अघि बढाउन इच्छुक रहेको प्रस्ट पारेको छ। दुई हप्ताअघि दुई नेताबीच शुरूमा सकारात्मक देखिएका छलफल स्थगन गरिएका थिए।

किम दक्षिण

तर दुई घण्टा लामो पछिल्लो भेटघाट र क्यामेरामा तस्वीर खिचाउने क्रममा देखिएका अंकमालका दृश्यपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शुक्रवार दुवै देशबीच थप छलफल हुने जनाएको छ। अनि आउँदो बैठकमा पनि दुवै नेताले हुने या नहुने दुवै भनिएको राष्ट्रपति ट्रम्प र किमबीचको शिखर बैठकबारे छलफल गर्नेछन्।

उत्तर कोरियाली सञ्चारमाध्यमले किम जङ-अन जुन १२ मा नै उक्त शिखर बैठक आयोजना होओस् भन्नेमा दृढ रहेको जनाएको छ। पूर्वनिर्धारित मितिमा वार्ता हुने या नहुने अस्पष्टै रहे पनि ह्वाइट हाउसले एउटा तयारी टोली सिंगापुर पठाउँदैछ।

संकेत

बैठक रद्द गरेको केही दिनपछि नै राष्ट्रपति ट्रम्पले शिखर बैठक होओस् भन्ने आफूले चाहेको देखाउन हरसम्भव संकेतहरू दिइरहेका छन्। यसअघि उत्तर कोरियाली नेताले व्यक्त गरेको ‘चरम आक्रोश र खुला वैरभाव’का कारण वार्ता रद्द गरिएको भन्दै ट्रम्पले उत्तर कोरियाली नेतालाई पत्र पठाएका थिए।

तर उनले शुक्रवार किमसँगको शिखर बैठक पुन: आयोजना गर्ने बारे उत्तर कोरियासँग ‘एकदमै सकारात्मक छलफल’ भएको संवाददाताहरूलाई बताए। उनले उत्तर कोरियासँग कुराकानी भइरहेको र उनीहरूले वार्ता रद्द गरिएपछि राम्रो विज्ञप्ति बाहिर ल्याएको पनि उल्लेख गरेका थिए।

वार्ता रद्द भएपछि उत्तर कोरियाका उपविदेशमन्त्रीले ट्रम्पको निर्णय अनपेक्षित र खेदजनक भएको र प्योङयाङ जुनसुकै बेला पनि प्रत्यक्ष वार्तामा बस्न तयार रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.