Breaking News.... EverestOnlineKhabar
June 29, 2026

प्रेस युनियनको मञ्चमा देउवा र पौडेलको जुहारी : देउवा भन्छन–निर्वाचित सभापतिलाई गेट आउट भन्ने ? पौडेलको प्रश्न –बिधान अनुसार चल्नु पर्दैन ?

Loading

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एउटै मञ्चमा सवालजवाफ भएको छ । कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस यूनियनको २७औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित कार्यक्रममा दुवै नेताबिच जुहारी मच्चिएको हो ।

कार्यक्रममा सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाउनु नै आफ्नो एकमात्रै स्वार्थ रहेको बताए । उनले कसैले सभापति पद छोड भन्दैमा आफूले पद त्याग नगर्ने स्पष्ट पारे ।

‘‘पार्टी सभापतिको स्वार्थ के हुन्छ ? पार्टीलाई एक गराउने । म पार्टी सभापति हुँ । मेरो इच्छा नै पार्टी एक गराउने छ । मेरो स्वार्थ नै त्यही हो,’’ सभापति देउवाले भने, ‘‘तर गेटआउट भन्दैमा गेटआउट हुनेवाला छैन ।’’

आगामी तीन वर्षपछि कांग्रेसको १४ औं महाधिवेशन हुने स्पष्ट पार्दै उनले चुनावमा जीत–हार स्वाभाविक रहेको बताए । दुई पार्टी मिलेर चुनाव लड्दा कांग्रेसले हार्नुपरेको दोहोर्याउँदै सभापति देउवाले दुई पार्टी नमिल्दा पनि कांगे्रस यसअघि पनि दुई पटक चुनाव हारेको स्मरण गराए ।

संविधानको कार्यान्वयन गराउन आफूलाई तीनै तहको निर्वाचन गराउनैपर्ने बाध्यात्मक अवस्था रहेको पनि देउवाले बताए । हार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले पार्टीमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पौडेलले भने– बिधान अनुसार नेतृत्व चलेको ख्वै ?
समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले इच्छा प्रकट गर्दैमा पार्टी्भित्र एकता नहुने बताए । ‘‘पार्टीमा इच्छा गरेर मात्रै सार्थक रुपमा एकता हुँदैन । एकताका लागि पार्टी्भित्र ठोस आधार निर्माण हुनुपर्दछ,’’ उनले भने । पार्टी्भित्र ठोस आधार निर्माण गरेर पार्टी्भित्रको मतभेद हटाउन नेतृत्वले पार्टीलाई विधान अनुरुप सञ्चालन गर्नुपर्ने वरिष्ठ नेता पौडेलले जिकिर गरे ।

पार्टीलाई एकजुट बनाएर लैजान पार्टी्भित्र नेता–कार्यकर्ताको न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन हुन सके पार्टी्भित्रका धेरै कुराहरु मिलेर जाने उनले दावी गरे । ‘‘न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन हुन सके एकताको भावना जागृत भएर आउँछ,’’ उनले भने ।

दुई वटा कम्युनिष्ट मिलेका कारण कांग्रेस पराजित भएको भन्ने पार्टी सभापति शेरबहादुर देउवाको भनाइसँग आफू कहिल्यै सहमत हुन नसक्ने उनले स्पष्ट पारे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस हारे पनि निर्वाचनले कांग्रेसको सैद्धान्तिक जीत भने भएको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed