![]()
एजेन्सी । स्पेनले रुसमा हुने फिफा विश्वकप फुटबलको लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि स्पेनले सोमबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक जुलेन लोपेतेगुईले विश्वकपका लागि स्पेनिस टोलीमा ३ गोलरक्षक, ८ डिफेन्डर, ९ मिडफिल्डर र ३ स्ट्राइकरलाई समावेश गरेको छ । तर, सन् २०१० को विश्वकप विजेता स्पेनको टोलीमा चेल्सीका अल्भारो मोराटा र सेस फ्याब्रिग्यास टोलीमा परेका छैनन् । मोराटा सन् २०१६ को यूरोकपमा स्पेनको सर्वा्धिक गोलकर्ता हुन् । यस्तै स्पेनले दुई पटक युरोकप जित्दा फ्याब्रिग्यास मुख्य खेलाडी थिए ।
रुस विश्वकपमा स्पेनको गोलपोष्ट डेभिड दि गिया, पेपे रेइना र केपा अर्रिजाबलागाले सम्हाल्ने छन् । यस्तै स्पेनको रक्षापंक्ति जोर्डी अल्बा, सर्जियो रामोस, सेजर एजिप्लिक्युटा, ड्यानि कार्जाभाल, एल्भारो ओडियोजोला, जेरार्ड पिके, नाचो फर्नान्डेज र नाचो मोनरियलले सम्हाल्ने छन् ।
यस्तै मिडफिल्डरमा सर्जियो बुस्केट्स, डेभिड सिल्भा, साउल निग्वेज, आन्द्रेस इनिएस्टा, थियागो अल्कान्टारा , कोके, लुकास भासक्वेज, मार्को एसेन्सियो र इस्को रहेका छन् । यस्तै टोलीको फरवार्ड लाइन डिएगो कोष्टा, रोड्रिगो मोरिनो, इयागो आसपसले सम्हाल्ने छन् ।
आगामी जेठ ३१ गतेबाट सुरु हुने २१ औँ संस्करणको विश्वकपमा स्पेन समूह बि मा रहेको छ । स्पेनको समूहमा पोर्चुगल, मोरक्को र इरान रहेको छ ।


