Breaking News.... EverestOnlineKhabar
June 28, 2026

चीनसँगको नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक आज हस्तान्तरण गरिँदै

Loading

रसुवा,जेठ ।
चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक आज हस्तान्तरण गरिँदैछ। नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज एक समारोहका बीच गल्छी त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिने भएको हो। हस्तान्तरण गर्नुपूर्व बिहान रक्षामन्त्री इश्वर पोखरेलले जिल्लाको मैलुङमा रिवन काटेर सडकको समुद्घादन गर्ने कार्यक्रम छ। सडक उद्घाटनमा रक्षामन्त्री पोखरेलसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तिहरु सहभागी हुने आयोजनाले जानकारी दिएको छ ।
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिए। सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो। १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि‘सिङ्गल लेन’को बनाएको छ।
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटरको निर्माण लागत ३ करोड ९० लाख रुपैयाँ पर्न आएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ। बेत्रावती देखि धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेकोमा हाल ट्र्याक खोलिएको बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ।काठमाण्डौदेखि गल्छी ४४, गल्छीदेखि बट्टार २२, बट्टारदेखि बेत्रावती ११, बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रु १६ किलोमिटर दूरी रहेको छ। काठमाडौंबाट बेत्रावती धुन्चे रसुवगढीको दूरी १ सय ४५ किलोमिटर रहेको छ भने काठमाडौैबाट बेत्रावती–मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी अब १ सय २२ किलोमिटर मात्र हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.