![]()
काठमाडैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय भएको बताउँदै त्यसबारे भारत सरकारको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।
उहाँले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको पनि अभिव्यक्ति खेदजनक भएको बताउनुभयो । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले भाजपा सांसद आजादको ट्वीट र मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे उठाएका प्रश्नका सन्दर्भमा परराष्ट्रमन्त्रीले धारणा राख्नुभएको हो । आजादले मोदी नेपाल भ्रमणमा आएकै दिन जनकपुरलाई भारत फिर्ता ल्याउनुपर्ने भन्दै ट्वीट गरेका थिए ।
ज्ञवालीले भाजपा सांसदको अभिव्यक्ति नेपाल–भारत सम्बन्ध विगार्ने कुत्सित मनसायबाट लक्षित रहेको भन्दै त्यसबारे भारत सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको भन्दै उहाँले नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन नसक्ने प्रष्ट पार्नुभयो ।
उहाँले संविधानसभाबाट संविधान जारी गर्ने र नाकाबन्दीविरुद्ध बलियोसँग उभिने सन्दर्भमा आफूहरुले लिएको अडान सही थियो भन्ने पुष्टि भएको बताउनुभयो । ‘हामीले नाकाबन्दीविरुद्ध अडान लिँदा नाकाबन्दी नै भन्न नसक्नेहरु पनि आज त्यही ठाउँमा आइपुगेका छन् । हामीले त्यतिबेला उठाएका मुद्दा हाम्रो संविधान हामी आफैंले बनाउने कुरा गर्दा, नेपालले संघीयताको मोडल आफैं तय गर्न पाउनुपर्छ भन्दा खोक्रो राष्ट्रवाद भनिएको थियो । तर, आज आएर हाम्रो अडान पुष्टि भएको छ, यसमा हामीलाई गर्व छ’ उहाँले भन्नुभयो ।
मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बीचमा भएका कुराकानीलाई विवादको विषय नबनाउन आग्रहसमेत गर्नुभयो ।


