![]()
स्पेन,बैशाख ।
स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाको अपराजित यात्रा टुंगिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेसँग ५ – ४ गोलले पराजित हुँदै बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लागेको हो । बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लगाउन लेभान्टेका इम्यानुएल बोटेङले ह्याट्रिक गरे । त्यस्तै इनिश बर्धीले दुई गोल गरे । बार्सिलोनाका फिलिपे कौटिन्होले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले एक गोल फर्काए । यो सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोनाविरुद्ध लेभान्टेले पहिलो हाफको नवौं मिनेटमै बोटेङको गोलबाट अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा बोटेङले दोस्रो गोल गर्दै लेभान्टेलाई २ – ० को अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा च्याम्पियन बार्सिलोनाका लागि कौटिन्होले एक गोल गर्दा पहिलो हाफमा २ – १ ले पछि परेको थियो ।
दोस्रो हाफको सुरुवाती १० मिनेटभित्र घरेलु टोलीले लगातार तीन गोल गर्दै बार्सिलोनाविरुद्ध फराकिलो अग्रता बनायो । खेलको ४६ औं मिनेटमा बर्धीले गोल गर्दै लेभान्टेलाई ३ – १ को अग्रता दिलाए । ४९ औं मिनेटमा बोटेङले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा लेभान्टेको अग्रता ४ – १ मा पुग्यो । खेलको ६५ औं मिनेटमा बर्धीले व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई ५ – १ को अग्रता दिलाए ।
घरेलु टोली लेभान्टेसँग ६५ मिनेटभित्रै फराकिलो गोल अन्तरले पछि परेपनि बार्सिलोना खेलमा फर्कने कोशिश गरेको थियो । खेलको ५९ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५ – २ को स्थितिमा ल्याए । खेलको ६४ औं मिनेटमा कौटिन्होले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा खेल ५ – ३ को अवस्थामा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा स्वारेजले एक गोल गरेपनि बार्सिलोना लेभान्टेसँग ५ – ४ ले पराजित हुन् पुग्यो ।
यो हारसँगै बार्सिलोनाको पुरै सिजन अपराजित रहने योजना समाप्त भएको छ । पाँच खेल अगावै ला लिगाको उपाधि जितेको बार्सिलोनाले अन्तिम एक खेल बाँकी रहदा लिगमा ९० अंक जोडेको छ । बार्सिलोनाविरुद्ध उत्कृष्ट जित निकालेको लेभान्टे ४६ अंक जोडेर लिगको १५ औं स्थानमा उक्लिएको छ ।


