![]()
एजेन्सी,बैशाख ।
इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा लिभरपुलले सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ब्राइटनलाई ४ – ० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह, डेजान लोभ्रोन, डोमिनिक सालोन्के र एन्ड्रयु रोबर्टसनले समान एक–एक गोल गरे । यो जितसँगै लिभरपुलले प्रिमियर लिगको शीर्ष चारभित्र पुग्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । लिभरपुल यो सिजनको फाइनलमा समेत पुगिसकेको छ ।
एनफिल्डमा ब्राइटनविरुद्ध लिभरपुलले एकतर्फी खेल खेलेको थियो । पहिलो हाफको २६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । यो गोलसँगै २५ बर्षीय सलाहले प्रिमियर लिगमा नयाँ किर्तिमान बनाए । यो सिजन लिगको ३८ खेलमा ३२ गोल गर्दै सलाहले एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान बनाएका हुन् ।
सिजन इटालियन क्लब रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका सलाहले एलेन शेअरर, क्रिस्टियानो रोनाल्डो र लुइस स्वारेजले बनाएको ३१ गोलको किर्तिमान भङ्ग गरेका हुन् । यो सिजन ३२ गोलको कीर्तिमानीसँगै सलाहले गोल्डेनबुट समेत जितेका छन् ।
प्रिमियर लिगमा सर्वा्धिक गोल गर्ने खेलाडीले गोल्डेनबुट पाउने गर्छ । सलाहले टोटनह्यामका ह्यारी केनलाई पछि बनाएर गोल्डेनबुट जितेका हुन् ।
सलाहको गोलबाट सुरुवाती अग्रता बनाएको लिभरपुलले खेलको ४० औं मिनेटमा लोभ्रोनको गोलबाट अग्रता दोब्बर बनायो । खेलको ५३ औं मिनेटमा सालोन्केले गोल गर्दा लिभरपुलको अग्रता ३ – ० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा रोबर्टसनले गोल गर्दै लिभरपुललाई ४ – ० को जित दिलाए ।
यो जितसँगै यो सिजन प्रिमियर लिगको चौथो स्थान हासिल गरेको लिभरपुलले ७५ अंक जोड्न सफल भयो । यो सिजन लिभरपुलले ३८ खेलमा २१ जित, १२ बराबरी र ५ खेल गुमाएको थियो । पराजित ब्राइटन ४० अंकसहित १५ औं स्थानमा रह्यो ।


