![]()
काठमाडौं । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गर्नुभएको छ । भेटका लागि राजदूत ओगावा खनाल निवास डल्लु पुग्नु भएको थियो ।
सो भेटमा राजदुत ओगावाले आफ्नो कार्यकाल समाप्त भई स्वदेश फर्कन लागेको जानकारी गराउनु भयो । साथै, नेपाल जापान सम्बन्ध, नेपालको आर्थिक विकासमा जापानको तर्फबाट भइरहेको सहयोग र आपसी हित एवं चासोको विषयमा छलफल भएको थियो ।

त्यसक्रममा पूर्बप्रधानमन्त्री खनालले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएका राजदुत ओगावालाई नेपाल जापान सम्बन्धलाई अझ प्रगाढ वनाउन खेल्नु भएको भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा दुई देश वीचको सम्बन्ध अझ सुमधुर हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो ।
भेटवार्तामा पूर्व प्रधानमन्त्री खनालले तीन तहको निर्वाचन सम्पन्न भएपछि नेपाल आर्थिक सामाजिक रुपान्तरणको युगमा प्रवेश गरेको धारणा राख्नुभयो । साथै देशमा बिकास र समृद्धिका लागि अझ धेरै क्षेत्रमा सहयोग आवश्यक पर्ने कुरामा जोड दिदै नेता खनालले जापान सरकार र जनताको तर्फबाट अझ फराकिलो दायरामा सरसहयोग प्राप्त हुने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।
भेटमा खनालका बिदेश मामिला सहयोगी योगेन्द्र ब. शाहीको पनि उपस्थिति रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी गराउनु भयो ।


