![]()
एजेन्सी ।रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले घाइते सुपरस्टार क्रिस्टियानो रोनाल्डो लिभरपुलविरुद्धको च्याम्पियन्स लिग फाइनललाई ठीक भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन्।
लिभरपुलले च्याम्पियन्स लिगमा आश्चर्यजनक रुपमा फाइनलसम्मको यात्रा तय गर्नुमा मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शन भएको स्विकार्दै जिदानले किभमा हुने फाइनल भने इजिप्टका स्टार सालाह र रोनाल्डोबीचको प्रतिस्पर्धा नहुने बताए।
आइतबार क्याम्प नोउमा बार्सिलोनाविरुद्ध सम्पन्न एल क्लासिकोको मध्यान्तरमा चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए। जसका कारण रियाल समर्थकमाझ मे २६ को फाइनललाई रोनाल्डो ठीक नहुने चिन्ता भएपनि जिदानले भने इस्को र ड्यानी कार्भाहलसमेत अनुपस्थित हुने दुबिधा रहँदा उनी फर्किने बताए। पोर्चुगलका स्टार रोनाल्डोको कुर्कुच्चामा चोट लागेको बताउदै जिदानले च्याम्पियन्स लिग फाइनलसम्ममा उनी ठीक भइसक्ने बताए।
मेरो विचारमा रोनाल्डो, इस्को र कार्भाहल फाइनलका लागि ठीक हुनेछन,’ जिदानले भने,‘अहिले चोटको अवस्था अलिक गम्भीर भनेको रोनाल्डोको हो। किनकी उनी सबभन्दा पछि घाईते भएका हुन्। तर अहिले उनी राम्ररी हिँड्न थालिसकेको छन्। फाइनलसम्ममा ठीक भइसक्ने छन्।
जेरार्ड पिकेसँग जुध्दा रोनाल्डो घाइते भएका थिए। घाइते भएपछि पनि थप ३१ मिनेट मैदानमा बिताएपनि जिदानले उनलाई दोस्रो हाफमा भने मैदान छिराएनन्।
रियालले स्पेनिस ला लिगको खेलका लागि बुधबार सेभियाको भ्रमण गर्नेछ। तर उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियालले पनि आफ्नो स्थान शीर्ष चारमा पक्का गरिसकेकाले त्यो खेलमा थप खेलाडी घाइते नहून् भन्नेमा टोली सचेत रहनेछ।


