![]()
बीबीसी। भारतको झारखण्ड राज्यमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको गुनासो उनका बाबुआमाले गाउँका अग्रजहरूसमक्ष गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न ठानिएका १४ जनालाई पूर्वी राज्य झारखण्डमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार गाउँलेहरूले बलात्कारको अभियोग लागेकालाई सजायस्वरूप ५० हजार रूपैयाँ तिर्न र १ सय पटक उठबस गर्न भनेका थिए। तर आरोपितहरू निकै क्रुद्ध बने र ती किशोरीका बाबुआमालाई पिटे र उनलाई आगोमा राखे।
स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामले समाचार संस्था एएफपीलाई भने, “आरोपित दुई व्यक्तिले आमाबुवालाई पिटे र उनीहरूको घरमा गएर ती किशोरीलाई साथीहरूको सहयोगमा जलाए।”
ती किशोरीलाई उनका आमाबुवा विवाहमा गएका बेला घरबाट अपहरण गरिएको थियो। स्थानीय प्रहरीले उनलाई दुईजना पुरूषले राजा केन्दुवा गाउँ नजिकैको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको बताएका छन्।

घटनाबारे खोज्दै जाँदा आमाबुवाले गाउँका अग्रजहरूलाई अपराध गरेको ठानिएकाहरूविरुद्ध अभियोग चलाउन भनेका थिए। गाउँका अग्रजहरूको समूहले कानूनी हैसियत राख्दैन।
उक्त राज्यको प्रहरीले बलात्कारपछि हत्या घटनामा आफूले अनुसन्धान गरिरहेका १८ व्यक्तिमध्ये १४ जनालाई पक्राउ गरिसकेको जनाएको छ।
सन् २०१६ मा मात्रै भारतमा ४० हजार बलात्कारका घटनाहरू प्रहरीसम्म पुगेका छन्। यद्यपि बलत्कार र यौन हिंसाका विषय सामाजिक कलंकसँग जोडिएका कारण थुप्रै मुद्दाहरू रेकर्डमै नआएको ठानिएको छ।


