![]()
काठमाडौं । पार्टी एकतालाई टुंगोमा पुर्याउन पटक–पटक निर्णायक वार्ता भन्दै प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएपनि त्यो सधैं असफल हुने गरेको छ ।
आ–आफनो पार्टी भित्र एकीकरण अन्तिम चरणमा पुगेको, सैद्धान्तिक, बैचारिक, सांगठानिक लगायतका बिषय टुंगीसकेको बताउने गरेपनि शीर्ष नेताहरुको व्यवस्थापनको कुरा नटुंगिदा समस्या भैरहेको छ । खासगरी प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवैले एक अर्कालाई मित्र भन्दा पनि शत्रुका दृष्टिले बढी हेर्ने गरेका छन । बाहिर दुवै पार्टी मिल्ने, एकता गर्ने भनेर निकै घनिष्टता देखाउन खोजेपनि भित्रभित्रै दुवै नेता एक अर्कालाई सिध्याउन उद्यत भएको पाइन्छ ।
प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीले कहिल्यै पनि माओवादीले भन्दै आएको जनयुद्धलाई मान्यता दिएनन । उनले माओवादीको जनयुद्धलाई गुरिल्लाको बितण्डा भन्ने गरेका छन । माओवादीले गरेको सशस्त्र युद्धका कारण नै मुलुक पछाडी परको उनको बुझाई छ । उता, दाहालले ओली गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिरोधी भएको आरोप लगाउने गरेका छन । पार्टी एकता नहुने भयो भने प्रचण्डले ओलीमाथि यही आरोप लगाउने लगभग निश्चित छ । दुवै एकअर्काक देखि उत्तिकै सतर्क र त्रस्त रहेकाले पनि पार्टी एकताले गति लिन सकेको छैन ।
बिहीबार पनि पार्टी एकतालाई टुंगोमा पुर्याउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा दुवै जनाको ‘वान टु वान ’ वार्ता भयो, तर सहमति हुन सकेन । जबकी बिहीबारको वार्तालाई पार्टी एकताको मिति घोषणा गर्ने बैठकका रुपमा प्रचार गरिएको थियो ।
बिहान सवा दश बजे बालुवाटर पुगेका प्रचण्डले ओलीलाई पौने घण्टा कुरेका थिए । तर पौने घण्टा कुरेर बसेको वार्ता फेरि बस्नेगरी सकिएको हो ।


