![]()
बीबीसी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग तीन वर्षअघि भएको परमाणु सम्झौताबाट बाहिर नजान सुझाव दिएका छन् ।
इरानले सन् २०१५ मा अमेरिकासहितका विश्वका पाँच शक्तिसँग परमाणु सम्झौता गरेको थियो । सम्झौता अनुसार इरानको परमाणु हतियार कार्याक्रम बन्द हुनुपर्ने थियो । तर इजरायल तथा अमेरिकासहितका देशले इरानले परमाणु हतियार उत्पादन नगर्ने सम्झौताको उल्लंघन गरेको बताउने गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनअघि इरानले गोप्य रुपमा परमाणु हतियार उत्पादन गरिरहेका प्रमाण नै फेला पारेको बताएका थिए । त्यसपछि अमेरिकाले परमाणु सम्झौतामा रहने नरहने बारे केही दिनमा निर्णय गर्ने बताएको थियो ।
तर संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेसले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्झौताबाट बाहिर नआउन सुझाव दिएका हुन् । महासचिव गुट्रेसले सन् २०१५ मा भएको परमाणु सम्झौता भंग भएमा युद्धको सम्भावना बलियो रहेको बताएका हुन् ।
सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने र अमेरिकासहितका देशले उसमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने कुरा उल्लेख छ । ट्रम्प परमाणु सम्झौताको विपक्षमा रहँदै आएका छन् ।
ट्रम्पले यहि मे १२ सम्ममा सम्झौतामा रहने नरहने बारे निर्णय गर्ने बताएका छन् । गुट्रेसले भने इरानसँगको परमाणु सम्झौता महत्वपूर्ण कुटनीतिक जित रहेकाले जोगाइराख्नु पर्ने बताए ।


