![]()
काठमाडौ,बैशाख ।
नेकपा माओवादी केन्द्रको बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तीनवटा महत्वपूर्ण विषयमा ब्रिफिङ गर्दै सुझाव पनि मागेका छन् । दाहालले अहिलेसम्म भएका वार्ता र उपलब्धि, आफूहरुको अडान, एमालेको धारणा र अडान लगायतका विषयमा सचिवालयका सदस्यहरुलाई जानकारी गराएका थिए । माओवादीका एक सचिवालय सदस्यका अनुसार पार्टी एकता भएको खण्डमा जनयुद्ध शब्दलाई के गर्ने ? अहिले नै टुंगो लगाउने कि महाधिवेशनमा जाने ? भन्ने विषयमा सुझाव दिन दाहालले आग्रह गरेका थिए । यसमा दाहालले सचिवालय सदस्यहरुको धारणा माग गरेका थिए ।
अर्को थियो– विगतमा सरकार एवम् एमालेसँग भएका कुनै पनि सहमति कार्यान्यवन भएका छैनन् । अब विश्वासको वातावरण तयार पार्न पार्टीको भूमिका के हुनुपर्ला ? तेस्रो, एमालेसँग पार्टी एकता भएन भने के गर्ने ? नयाँ शक्ति, फोरम नेपाल र नेत्र विक्रम चन्द विप्लवसँग सहकार्य गरेर अगाडि बढ्न सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा पनि दाहालले सुझाव मागेको ती सदस्यले जानकारी दिए ।
उनीहरुले चुनावमा एमालेसँग पार्टी एकता गर्ने लक्ष्यसहित तालमेल गरेको बताउँदै सकेसम्म एमालेसँगै एकता गरेर अघि बढ्न अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । सचिवालय सदस्यहरुले एकताबाटै माओवादी केन्द्र ब्याक भए जनतामा नराम्रो सन्देश जाने पनि बैठकमा बताएका थिए । उच्च स्रोतका अनुसार एमाले पार्टी एकताको टाढा भएपछि माओवादी अध्यक्ष दाहालले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेत्रविक्रम चन्द लगायतसँग पनि सम्पर्क जारी राखेका छन् ।
स्रोतका अनुसार विप्लवसँग वार्ताका लागि दाहालले आफू निकटका एक नेतालाई जिम्मा दिएका थिए भने नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँग आफैं वार्ता गरेका छन् । ती नेताका अनुसार अझै केही दिनमा पनि ओली सकारात्मक नभए माओवादी केन्द्रले अर्कै निर्णय गर्न सक्नेछ ।
विगतमा एमालेसँग भएका सहमति कार्वान्यवन नहुँदा प्रचण्डले अहिले नै एकताको सम्पूर्ण सुनिश्चितता खोजेको माओवादी केन्द्रका नेता मणि थापाले बताए । उनले भनेः‘पार्टी एकता भएपछि एमाले अध्यक्ष प्रधानमन्त्री हुने भए प्रचण्डलाई पार्टीको सम्पूर्ण अधिकार दिनुपर्छ,ओली पार्टी अध्यक्ष बन्ने हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ । अहिले उहाँले (ओली) दुवै अधिकार प्रयोग गरिरहनुभएको छ । एकतापछि एउटाको जिम्मेवारी प्रचण्डलाई पनि दिन उहाँ तयार हुनुपर्छ ।’


