Breaking News.... EverestOnlineKhabar
August 11, 2026

पूर्व प्रधानमन्त्री खनालको ‘भिजन्स अफ आवर टाइम’ सार्वजनिक, खनाल भन्छन–‘अबको भिजन नै मुलुकको आर्थिक विकास’

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालद्वारा लिखित पुस्तक ‘भिजिन्स अफ आवर टाइम’ सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल प्रगतिशिल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक बिमोचन गर्नुभएको हो ।

वरिष्ठ नेता खनालकासाथै बिश्व प्रजातान्त्रिक युवका संघका पूर्व उपाध्यक्ष एवम युथ भिजन २०७५ का संयोजक योगेन्द्र शाहीद्वारा लिखित पुस्तक ‘नेपालमा भूमी सुधार’ को पनि अध्यक्ष दाहालले बिमोचन गर्नुभयो । यस्तै, कार्ल माक्र्स र एङ्गेल्सले लेखेको
‘कम्युनिष्ट पार्टीको घोषणा पत्र’ पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले दुई वाम शक्ति एक हुने प्रक्रियामा रहेकाले छिट्टै निष्कर्षमा पुग्ने दाबी गर्नुभयो । पार्टी एकीकरणका लागि राजनीतिक, सैद्धान्तिक, बैचारिक र सांगठनिक बिषयको टुंगो लागिसकेको जनाउँदै उहाँले व्यक्तिगत रुपमा दुवै पार्टीका नेताहरुका सोचमा केही अस्पष्टता देखिएकाले एकता घोषणामा केही ढिलाई भएको स्वीकार गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेता खनालले भन्नुभयो, ‘दुवै पार्टीका अध्यक्षबीच निरन्तर संवाद र छलफल चलिरहेको छ, यसले भएका असमझदारी घटाउँदै एकताको वातावरण तयार पारेको छ, चाँडै एकता घोषणा हुन्छ । ’

नेता खनालले संबिधान जारी भईसकेपछि मुलुक आर्थिक बिकासको गतिमा अघि बढेकाले सबैले हातेमालो गरेर अघि बढनुको विकल्प नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘ अबको भिजन भनेको मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुनुपर्दछ । स्थानीय, प्रदेश र केन्द्र सरकार सबैको प्राथमिकता मुलुकको विकास गरी जनतालाई सेवा सुविस्ता दिनु नै हो, हामी सबैले आफनो ध्यान त्यहीं केन्द्रीत गर्नुपर्दछ । ’

नेता खनालले अहिले विश्व साम्राज्यवादी तथा पुँजीवादी संरचनामा गइरहेकाबेला त्यसको विकल्पमा नेपाल समाजवादको युगमा प्रवेश गरेको धारणा राख्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्षको योगदान भएको टिप्पणी गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ऐतिहासिक अवसर भएकाले यसको सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रचण्डले गरे बैशाख २२ गते पार्टी एकताको संकेत

समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख २२ गते पार्टी एकताको घोषणा गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

वैशाख २२ मा माक्र्सको २००औं शतबाषिर्की मनाउँदा एकताको घोषणा गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो । एक–दुई दिनभित्रै एकताको प्रकृयाले टुंगो पाउने बताउदै उहाँले संसारको अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देश दिने जिकिर गर्नुभयो ।

दाहालले भन्नुभयो, ‘एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नै गर्न सकिन्न, एकता हुँदैन कि भन्ने हल्लाको पछाडी लाग्नुको अर्थ छैन ।’

धेरै समस्याहरु र अप्ठ्याराहरुसँग जुध्दै संघीय गणतन्त्र नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन स्वरुप निर्वाचन सम्पन्न गरेको बताउदै अध्यक्ष दाहालले वाम गठबन्धनप्रति जनतामा धेरै ठूलो आशा भरोसा पलाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा श्रमिक नेताहरुले श्रमिकले आगामी दिनमा कुनै कठिनाई भोग्न नपर्नेगरि नीति नियम बनाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed