![]()
काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरी प्रधान कार्यालयले एसएसपी श्याम खत्रीलाई पक्राउ गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ । सोही प्रकरणमा जोडिएका सनम शाक्यको हत्या सम्बन्धमा बयानका लागि उनको खोजी भएपनि फरार भएपछि प्रहरी प्रधान कार्यालयले ७७ जिल्लास्थित प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको हो ।
गत चैत ३० गते सरकारले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार गुहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । टोलीले ३३ केजी सुन काण्डमा यसअघि नै पूर्व डीआइजी गोविन्द निरौला, एसपी विकास राज खनाल, डिएसपी सञ्जय राउत, तत्कालीन महानगरीय अपराध महाशाका डीएसपी एवं सोही सुन तस्कर सम्बन्धमा अनुसन्धान गरिरहेका प्रजित केसीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन तस्कर सम्बन्धमा सोधपुछका लागि भन्दै एसएसपी खत्रीलाई नियन्त्रणमा लिई वयानका लागि पठाईदिन मातहतका निकायलाई निर्देशन दिएको छ । छानबीन समिति बने लगतै बिदामा बसेका खत्री विदाको समय सकिएको लामो समय भइसक्दा समेत कार्यालयमा हाजिर भएका छैनन् । उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत छन् । समितिले एसएसपी खत्री फरार भएपछि उनका गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको छ । फरार एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । तर सोही वर्षको चैत ४ गते काठमाडौं जिल्ला अदालतले उनलाई २ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।


