![]()
एजेन्सी,बैशाख ।
आईपीएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । आइतबार रातिको खेलमा १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको हो । कोलाकातालाई जिताउन क्रिस लायनले ६२ र रोविन उथप्पाले ३६ रन बनाए । त्यसैगरि, सुनिल नाराइनले २७ र दिनेश कार्तिकले २३ रनको योगदान गरे । उथप्पाले २१ बलमा तीन तीन चौका र छक्काको सहयोगमा ३६ रन बनाए । यस्तै नाराइनले १९ बलमा ३ चौका र १ छक्का सहित २७ तथा कप्तान कार्तिकले १० बलमा २ चौका र १ छक्कासहित २३ रन बटुलेपछि कोलकाता विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको बेंग्लोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । कोहलीले ४४ बलमा ५ चौका र ३ छक्कासहित ६८ रन बनाए । यसैगरि ब्रेण्डोन म्याककुलमले ३८ र एण्टोन डे ककले २९ रनको योगदान गरेपनि त्यो बेग्लोरका जितका लागि पर्याप्त भएन । जितसँगै कोलकाता अंकतालिकाको चौथो स्थानमा छ । बेंग्लोर भने पुछारबाट दोस्रो स्थानमा छ ।
लिगको शीर्ष स्थानमा सनराइजर्स हैदरावाद रहेको छ । आइतबार नै भएको खेलमा राजस्थान रोयल्सलाई ११ रनले हराउदै हैदरवाद शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १५२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा मात्र १४० रन बनाउन सकेको थियो ।
यो जितपछि शीर्ष स्थानमा उक्लिएको हैदरावादले ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्स र तेस्रो स्थानको किंग्स इलाभेन पन्जाबको समान १० – १० अंक रहेको छ । पराजित राजस्थान ७ खेलमा ३ जितसहित ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


