![]()
काठमाडौ,बैशाख ।
कमल हसनको फिल्म मुम्बई एक्सप्रेसलाई चटक्कै बिर्सने हो भने, कोहलपुर एक्सप्रेस रमाइलो लाग्छ । किनभने कथाको बान्की, घटनाको बनोट, पात्रको प्रवृत्ति आदि सबै मुम्बई एक्सप्रेसबाट पैंचो लिइएको छ भन्ने विश्लेषण गरिएको छ । फिल्ममा अपहरण एवं असुलीको खेल छ । हाँसोठट्टा छ । धोकाधडी छ । यसलाई नयाँपन दिनुभन्दा हुबहु फोटोकपी उतार्ने कलालाई निर्देशक विशाल भण्डारीले उत्कृष्ठ मानेका छन् । कोहलपुर एक्सप्रेसले‘मुड फ्रेस’ बनाउँछ, कथाको विश्वसनीयतामाथि प्रश्न नगर्ने र चरित्र चित्रणलाई तर्कसंगत नमान्ने हो भने । कुनै तडकभडक बिना नै फिल्मले २ घण्टा मनोरञ्जन गराउँछ । रमाइलो गराउन पात्र र प्रवृत्ति तथा प्रसंग र परिस्थितिको बान्की मिलाउने हरसम्भव प्रयास गरिएको छ । तर, यो प्रयास आयातीत छ । मुम्बई एक्सप्रेसबाट ।
गर्भको बच्चाले आफूले जस्तै दुख, कष्ट खेप्न नपरोस् भन्नका खातिर चम्पा (प्रियंका कार्की) पुग्दो सम्पत्ति जगेर्ना गर्न चाहन्छिन् । यसका लागि उनीसँग‘मास्टर प्लान’ छ । त्यही अभीष्ट पूरा गर्नका लागि देवर, भाइ र अर्की युवती (डेलिभरी गर्ल)लाई साथ लिन्छिन् । मारवडी साहु (रविन्द्र झा) का स्कुले छोरोलाई अपहरण गर्ने दाउपेच चल्छ ।
चम्पाले आफ्नै संगिनी जुनकिरी (केकी अधिकारी)लाई यसको सूत्रधार बनाउँछे । खासै कान नसुन्ने र सोझो प्रवृत्तिकी जुनकिरी (फिल्मभर जसलाई कोहलपुर एक्सप्रेस भनेर चिनिन्छ) चम्पाकै करकापमा बच्चा अपहरण गरेर पैसा असुल गर्ने धन्दामा लाग्न राजी हुन्छिन् । यस्तै यस्तै छ कथा ।
फिल्मको सबै शक्ति हँसाउनमै खर्च गरिएको छ । तर, कान नसुन्ने र बोल्न नसक्ने भिन्न पात्रलाई एकै ठाउँमा उभ्याएर जसरी हँसाउने चेष्टा गरिएको छ, त्यसअनुरूप उनीहरूले झेल्ने परिस्थितिलाई स्वाभाविक बनाउन सकिएको छैन । गर्भवती महिलाले अपहरणको तानाबाना मिलाउनु । पेटको उपचार गर्न उनको लोग्ने अस्पताल भर्ना हुनु । अपहरित फुच्चे स्वयं अपहरणको नाटकमा सहभागी हुनु । मारवाडी साहुसँग फिरौती असुल गर्नु । कुनै पनि घटनाको बनोट कसिलो नभएको मात्र होइन, विश्वसनीय समेत छैन ।
हिन्दी फिल्मको फोटोकपी उतार्ने जोडघटाउमा लागेका निर्देशकले कोहलपुर एक्सप्रेसमा खासै सिर्जनशीलता पस्कन सकेका छैनन् । जब कि फिल्मलाई विश्वसनीय एवं रोमाञ्चक बनाउने ठाउँ प्रशस्तै छ । तर, निर्देशकले यसमा कष्ट उठाएका छैनन् । दर्शकलाई हँसाउने चक्करमा यति सतही कथा बुनिएको छ कि, त्यो कुनै पनि कोणबाट रसिलो र कसिलो लाग्दैन । अपहरण गर्ने र फिरौती असुल गर्ने हल्काफुल्का खेलले कोहलपुर एक्सप्रेसलाई जोक बनाएको छ ।
फिल्ममा चित्त बुझाउने एउटै कुरा कलाकारको अभिनय हो । देख्दा सोझी तर भित्री चतुर्याइँ गर्ने स्वभावकी युवतीमा केकी सुहाएकी छिन् । खास भूमिका नभए पनि बुद्धि तामाङको उपस्थितिले दर्शक रोमाञ्चित हुन्छन् । फिल्मभरि नै अस्पतालको शैयामा बसेका तामाङको अभिनय र संवाद रुचिपूर्ण छ । कडा मिजासकी गर्भवतीको भूमिकामा प्रियंका औसत देखिएकी छिन् । ऋचा शर्मा बढी नाटकीय लाग्छिन् । कतिपय पात्रको उपस्थिति भने बेकार छ ।


