Breaking News.... EverestOnlineKhabar
August 31, 2026

प्रधानमन्त्री ओलीले आज प्रदेश नम्बर ५ को संसद बेठकलाई संवोधन गर्ने,बौद्ध सम्मेलनमा पनि सहभागिता जनाउने

Loading

काठमाडौ,बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही जाँदैछन् । प्रधानमन्त्री ओली प्रदेश ५ को संसद बैठकलाई सम्वोधन गर्न र अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा सहभागी हुन रुपन्देही जान लागेका हुन् । प्रदेश नम्बर ५ मा ओलीको ध्यान केन्द्रको शिलान्यासदेखि अन्य विविध कार्यक्रमहरु तय भएका छन् । सोमबार लुम्बिनीमा आयोजना हुने २५६२ औं बुद्ध जयन्तीमा प्रधानमन्त्रीका साथै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रदेश ५ को आकस्मिक संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । २१ गतेका लागि तय भएको प्रदेशसभा बैठक प्रधानमन्त्रीको सम्बोधनकै लागि प्रदेश सरकारको आग्रहमा आइतबारका लागि सारिएको हो । प्रधानमन्त्रीले १० बजे संसद बैठकलाई सम्बोधन गर्नुहुने जनाइएको छ ।
प्रधानमन्त्रीले प्रदेश संसदमा सम्बोधन गर्न लागेको यो पहिलो हो । प्रधानमन्त्रीले सबै प्रदेशसभा बैठकमा एकपटक सम्बोधन गर्ने प्रचलन रहेकाले सोहीअनुसार पहिलोपटक प्रदेश ५ को संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली हेलिकोप्टरबाट बुटवल रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा उत्रिएर त्यहाँबाट बुटवलको खयरघारीस्थित प्रदेश संसद भवनमा गाडीमा आउनेछन् ।
प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनवाहेक अन्य कार्यसूचि नरहेको प्रदेशसभा सचिव डा. मानबहादुर विकले जानकारी दिए ।
बुटवलमा प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली लुम्बिनी जानेछन् । लुम्बिनीमा चिनियाँ बौद्ध बिहारमा आयोजित दुईदिने अन्तराष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । शनिबार यो सम्मेलनको उदघाटनमै प्रधानमन्त्री आउने कार्यक्रम थियो, तर उनी आएनन् । प्रधानमन्त्रीले सम्मेलनको निश्कर्षसहितको लुम्बिनी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।
सन् २०१६ मा लुम्बिनीमै सम्पन्न बौद्ध सम्मेलनले प्रकाशित गरेका पुस्तकहरु पनि प्रधानमन्त्रीले विमोचन गर्ने कार्यक्रम छ । यो कार्यक्रमपछि लुम्बिनीमै रहेको होक्के होटलमा प्रधानमन्त्रीका लागि बिहानको खानाको व्यवस्था गरिएको छ ।
खाना खाइसकेपछि प्रधानमन्त्रीले साढे १२ बजे नेपाली सेनाले चार करोडको लागतमा बनाएको अस्थायी प्रकृतिको तीन हजारजना क्षमताको सभा हलको उद्घाटन गर्ने छन् । दिउँसो साढे १ बजेदेखि २ बजेसम्म लुम्बिनी बौद्ध विश्व विद्यालयले आयोजना गरेको दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले सोमबार शिलन्यास गर्ने भनिएको ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय मेडिटेसन सेन्टर (ध्यान केन्द्र) सहितको सभाहलको पनि आइतबार नै शिलान्यास गर्ने छन् ।
राष्ट्रपति र प्रधानमन्त्री दुबैको आतिथ्यमा सोमबार लुम्विनीमा वौद्ध जयन्ती मनाउने कार्यक्रम छ । प्रधानमन्त्री ओली सोमबार २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुनेछन् । बुद्ध जयन्ती मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुन् । प्रधानमन्त्री ओलीले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.