Breaking News.... EverestOnlineKhabar
June 27, 2026

च्याम्पियन्स लिगः रोमाविरुद्ध लिभरपुलको शानदार जित

Loading

एजेन्सी,बैशाख ।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो । यो जितसँगै लिभरपुल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको रोमा भने दोस्रो लेगको खेल खेल्नुअघि दबावमा परेको छ ।
लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई–दुई गोल गरे । साडियो मानेले एक गोल थपे । रोमाका लागि एडिन जेको र डिएगो पेरोटीले एक–एक गोल गरेका थिए । सन् २००७ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।  यो सिजनमा पनि फाइनलमा पुग्ने बलियो सम्भाबना कायम राख्नुमा सालहको भूमिका महत्वपूर्ण छ । दुई दिनअघि मात्रै पिएफए वर्ष खेलाडी अवार्ड जितेका सालहले रोमाविरुद्धको खेलमा दुई गोल मात्रै गरेनन् थप दुई गोलका लागि सहयोग गरे ।
३५ र ४५ औं मिनेटमा गोल गरेका सालहले ५६ औं मिनेटमा साडिओ माने र ६१ औं मिनेटमा रोबर्टो फिरमिनोलाई गोल गर्ने वातावरण तयार पारे । फिरमिनोले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० को अवस्थामा पुर्‍याएका थिए । यो सिजनको सुरुमा रोमाबाट आएका सालहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरिसकेका छन् ।
खेलको अन्तिम समयतिर भने रोमाले दुई गोल फर्कायो । ८१ औं मिनेटमा एडिन जेकोले र ८५ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे । आजराती सेमिफाइनलको अर्को खेलमा स्पेनिस जाइन्ट रियल मड्रिड र जर्मन जाइन्ट बार्यन म्युनिख भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.