Breaking News.... EverestOnlineKhabar
August 29, 2026

उत्तर कोरियालाई निशस्त्रीकरण गर्न अमेरिका र जापान सहमत

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा जापानी प्रधानमन्त्री शिन्जो आबेले पूर्ण रूपमा पारमाणविक निश्शस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार आ लागो रिजोर्टमा बोल्दै दुई नेताहरूले यस्तो बताएका हुन्। उनले उत्तर कोरियाली नेता किम जङ-अनसँग आफूले गर्ने भनेको शिखर बैठक सफल हुने अपेक्षा गरेको पनि बताएका छन्। तर उक्त वार्ता विफल भए आफू सम्मानजनक ढङ्गले बैठकबाट बाहिरिने उनले उल्लेख गरे।

ट्रम्पले उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि वार्ताहरू भइरहेको जनाएका छन्। यसअघि उनले अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले गोप्य रूपमा उत्तर कोरिया पुगेर राष्ट्रपति किमलाई भेटेको पुष्टि गरेका थिए। उनले पोम्पेओले किमसँग ‘राम्रो सम्बन्ध’ कायम राखेको र सबै कुरा सहज ढङ्गले अघि बढिरहेको बताएका थिए। उक्त भ्रमण अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच सन् २००० यता भएको सबैभन्दा उच्चस्तरको आदानप्रदान हो।

 

राष्ट्रपति ट्रम्पले किमसँग आगामी जुन महिनामा शिखर बैठक गर्ने ठानिएको छ। बैठकस्थलसहितका विस्तृत विषयहरूमा अझै छलफल चलिरहेका छन्। संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले बैठक असफल हुने आफूलाई लागे आफू त्यसमा सहभागी नहुने बताए। तर यदि बैठक भइहाले पनि त्यो परिणाममुखी नहुने लागेमा आफू बाहिरिने पनि उनले उल्लेख गरे।

ट्रम्पले उत्तर कोरियाले पारमाणविक निश्शस्त्रीकरण पूरा गर्नु विश्व र उत्तर कोरिया दुवैका लागि ठूलो उपलब्धि हुने पनि बताएका छन्। प्रधानमन्त्री आबेले आफूले राष्ट्रपति ट्रम्पलाई सन् १९७० र सन् १९८० को दशकमा उत्तर कोरियाले बन्धक बनाएका जापानी नागरिकहरूको रिहाइका लागि पहल गर्न आग्रह गरेको जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.