![]()
एजेन्सी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ५ फरक क्षेत्रमा चीनसँग आर्थिक समृद्धिका लागि सहकार्य गर्न सकिने बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ बुद्धिजीवीको फोरममा यातायात र कनेक्टीभीटी, कृषि, उद्योग तथा प्रविधिको प्रयोग, जनशक्तिको उपयोग र प्राकृतिक सम्पदा तथा वातावरणमा सहकार्य गर्न सकिने बताउनुभयो ।
चीनसँगको व्यापार र जनता बीचको सम्बन्धमा यातायातको समस्याका कारण नै बाधा रहेकाले यसको समाधान नेपाली प्राथमिकतामा रहेको मन्त्री ज्ञवालीले बताउनुभयो । चीनसँग कृषि आधुनिकिकरण प्रविधिबाट सिक्न सकिने बताउँदै उहाँले जलविद्युत् उत्पादनलाई तीब्र बनाउन चिनियाँ लगानीबाट लाभकारी सहयोग गर्न सकिने उल्लेख गर्नुभयो ।
जलश्रोत, उद्योग, पर्यटन र कृषि क्षेत्रको विकास नै मुलुक सम्बृद्धिको आधार रहेकाले त्यसैको विकासमा नेपाल सरकार केन्द्रित रहेको ज्ञवालीको भनाई छ । नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको ज्ञवालीको भनाई थियो ।


