![]()
काठमाडौं । नेपाल पुलिस क्लबकी तारादेवी पुनले भारोत्तोलनको महिला ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् । ताराले स्नाच, क्लिन एण्ड जर्क र कुलको किर्तिमानमा सुधार गरेकी हुन् ।
काठमाडौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगितामा ताराले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६ केजी र कुलमा १६४ केजीको नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि ताराले स्नाचमा ६७ केजी, क्लिन एण्ड जर्कमा ९५ र कुलमा १६२ केजीको किर्तिमान कायम गरेकी थिइन् ।
प्रतियोगितामा सिनियर महिलातर्फ स्ट्रङ्गेष्ट खेलाडी घोषित ताराले २०७० सालमा बिरगंजमा भएको प्रथम शालिमार खुला भारोत्तोलन च्याम्पियनसिपमा किर्तिमान बनाएकी थिईन् ।
पुरुषतर्फको १०५ केजी माथीको तौलमा नेपाली सेनाका पुकार गुरुङ्ले स्नाचमा आफ्नै नाममा रहेको १२६ केजीको किर्तिमानमा सुधार गर्दै १२७ केजी भार बहनका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् । प्रतियोगिताको पुरुषतर्फ स्ट्रङ्गेष्ट खेलाडी घोषित पुकारले गत बर्ष ईरानको अहवाजमा भएको तेश्रो एफएजेआर कप आमन्त्रण भारोत्तोलन च्याम्पियनसिपमा १२६ केजीको किर्तिमान राखेका थिए ।
पुकारले क्लिनमा १४० केजी भारका साथ कुलमा २७६ केजीका साथ स्वर्ण हात पारे । यो स्पर्धामा भृकुटी टोल सुधार युवा क्लबका राजीव महर्जनले कुल २०८ केजीका साथ रजत र दीप ज्योती क्लबका सुभाष उपाध्यायले १९७ केजी तौलका साथ कास्य पाए ।


