![]()
एजेन्सी,चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारको ट्वीटमा सिरियामा मिसाइल हमला गर्ने खुलेआम घोषणा गर्दै रुसलाई तयार रहन धम्की दिएका छन् । वास्तवमा ट्रम्पले रुसको भनाइमा प्रतिक्रियामा दिँदै सो ट्वीट गरेको बताइएको छ । गत शनिबार भएको रासायनिक हमला विरुद्ध यसअघि पनि ट्रम्प लगायत विभिन्न पश्चिमी मुलुकहरुले सिरियाली सेनामाथि संयुक्त हमला गर्नेमा सहमति जनाएका थिए ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा यस प्रकारको छलफल गरिएपछि रुसले पनि सिरियामा प्रहार गरिने जस्तोसुकै मिसाइललाई नष्ट पारिदिने बताएको थियो । रुसको यसै चेतावनीको जवाफमा ट्वीट गर्दै ट्रम्पले यस्तो लेखेका हुन्ः‘रुसले सिरियामा प्रहार गरिने सबै मिसाइल ढाल्ने संकल्प गरेको छ । त्यसोभए रुस अहिले तयार भएर बस्नुपर्छ किनकी हाम्रो तर्फबाट मिसाइल आउँदैछ । तिमीहरुले निर्दोष मानिसलाई ग्यासले मारेर मजा लिने जनावरसँग सहकार्य गर्नु हुने थिएन ।’
यति मात्र नभएर ट्रम्पले रुससँगको सम्बन्धमा समेत प्रश्न उठाउँदै अर्को ट्वीट गरेका छन्ः‘अहिले रुससँगको हाम्रो सम्बन्ध हालसम्मकै खराब स्थितिमा पुगेको छ र शीत युद्ध पनि यसैबाट सुरु हुने देखिएको छ । रुसलाई अमेरिकाबाट आर्थिक सहयोग चाहिएको छ जसले हामीलाई झन सजिलो बनाइदिन्छ । त्यसकारण अब सबै देशहरुले हतियारको रेस अन्त्य गर्न एकसाथ भएर लाग्न आवश्यक छ ।’
यसअघि केहि घण्टा अगाडी मात्रै रुसले सिरीयामा सैन्य हस्तक्षेप नगर्न अमेरिकालाई कडा चेतावनी दिएको थियो ।


