![]()
काठमाडौ,चैत ।
तयारी नपुगेको भन्दै एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक बुधबार स्थगित भएको छ । स्थगित बैठक अझै बस्ने टुङ्गो छैन् । नेपालको कम्युनिस्ट इतिहासमा सबैभन्दा चर्चित र महत्त्वपूर्ण मानिएको दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण प्रक्रिया अझै लम्बिने छाँट देखिएको छ। एमाले नेतृत्वको सरकार बन्नुअघि नै पार्टी एकीकरण गर्ने घोषणा भए पनि सरकार बनेको करिब दुई महिना बितिसक्ता पनि प्रक्रिया सुरु भएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानुअघि नै पार्टी एकीकरण भइसक्ने घोषणा पनि गरियो । तर, त्यसबीचमा पनि हुन सकेन । अब वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा यी दुई पार्टीको एकीकरण हुने घोषणा भए पनि माओवादी नेताहरू अझैसम्म यस विषयमा ढुक्क हुन सकेका छैनन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । ओलीको एकलौटी निर्णय गर्ने तरिकाले गर्दा माओवादी नेताहरू अहिल्यै पार्टी एकीकरण गरेर पछि पछुताउनु भन्दा केही समय पर्खेर हेर्ने मनःस्थितिमा पुगेका छन् । माओवादीका एक जना प्रभावशाली नेताले भनेः‘ एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएको छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ । त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ ।’
अहिल्यै पार्टी एकीकरण गरेर निष्कर्षमा पुग्नुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले अपनाएको देखिएको छ । तर, अहिलेसम्म पार्टी एकताबाट आफूहरू पछि हट्ने संकेत भने माओवादी नेताले दिएका छैनन् । यद्धपि तत्काल एकता गरेको खण्डमा आफूहरूको अवस्था कमजोर हुने आकलन गरेका माओवादीका नेताले पार्टी एकताको विषयलाई अझ पर धकेल्ने मनसाय देखाएका छन् ।
पार्टी एकता भएपछि पार्टी विघटन हुने संभावना निकै कम भएको कारणले पनि माओवादी नेताहरू पहिले आफ्नो भविष्यप्रति आश्वस्त हुन चाहेको देखिएको छ । राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्थाले नयाँ दलको मान्यता पाउन पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैतर्फ कम्तीमा ४० प्रतिशत संख्या पु¥याउनुपर्ने भएकोले पनि एकीकरण पश्चात निर्णय उल्टिने संभावना निकै कम भएको ठानेर माओवादी नेतामा एकीकरणको विषयमा अन्योल देखिएको हो ।


