![]()
काठमाडौंं । नेकपा एमाले र माओवादी केन्द्रले बैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरेपनि दुवै पार्टीका नेताहरुले त्यस सम्बन्धी चासो देखाउन छोडेका छन ।
पार्टीको बिधानमा जनयुद्ध राख्ने वा नराख्ने, निर्वाचन चिन्ह र ५०/५० प्रतिशतको भागवण्डामा कुरा नमिल्दा एकता प्रक्रियाले ठोस गति लिन सकेको छैन । बुधवार पार्टी एकताका जटिलता मिलाउन एकता संयोजन समितिको बैठक बस्ने भनिएपनि दुवै पार्टीका शीर्ष नेताहरुले बाहनाबाजी गर्दा बैठक बस्न सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकै व्यस्त भएको, समिति सदस्य माधव नेपाल चीनबाट फर्किन ढिला भएको लगायतका कारण देखाएर बैठक टार्न खोजेका थिए । यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफनो स्वास्थ्यमा खरावी आएको बाहना गरेका थिए । यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण बुधबार बेलुका ५ बजेलाई तय गरिएको थियो ।
आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी गरेका दुई दलले यसअघि कार्यदलले सहमति जुटाउन नसकेका विषयमा समितिमा छलफल गरेर सहमति जुटाउने नेताहरुले बताउदै आएका थिए ।
कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेपनि प्रतिवेदनबारे छलफल भएको थिएन ।
प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै त्यसवारे छलफल गर्ने नेताहरुले बताएका थिए ।


