![]()
काठमाडौं । एसियालीको खेलकुदको कुम्भमेला एसियन गेम्सको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको एसियन गेम्स फन रन प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । इन्डोनेसियामा आगामी पाँच महिनापछि आयोजना हुने १८ औं संस्करणको एसियन गेम्सको प्रचार प्रसारको लागि नेपालमा फन रन आयोजना गरिएको हो ।
ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रमअनुसार नेपाल ओलम्पिक कमिटि एनओसीले आयोजना गरेको फन रनमा पाँच सय बढीको सहभागिता रहेको थियो । करिब ७ किमी दुरी तय गरिएको फन रनमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी, विभिन्न संघका पदाधिकारी तथा नागरिकहरुको उपस्थिति रहेको थियो ।
नेपालमा पहिलो पटक आयोजना गरिएको फन रनको उद्घाटन एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए । अध्यक्ष श्रेष्ठले तेक्वान्दो ओलम्पियन तथा एसियाली खेलकुदका दुई कास्यधारी दीपक विष्टलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै फन रनको उद्घाटन गरेका थिए ।
एसियन गेम्स आगामी अगस्टमा इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदै छ । यो पटकको एसियन गेम्समा ४० खेलको ४६२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । उक्त एसियन गेम्सको प्रवर्दन र सामाजिक उत्तरदायित्वको लागि नेपालमा एसियन गेम्स फन रन आयोजना गरिएको हो ।


