![]()
एजेन्सी,चैत ।
घरेलु टोली पाकिस्तानले वेष्ट इन्डिजविरुद्धको तीन खेलको टि – ट्वान्टी सिरीजमा क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टि – ट्वान्टीमा वेष्ट इन्डिजलाई ८ विकेटले हराउदै पाकिस्तानले सिरिज ३ – ० ले क्लिन स्विप गरेको हो ।
नेसनल स्टेडियम कराचीमा वेष्ट इन्डिजले दिएको १५४ रनको लक्ष्य पाकिस्तानले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेल्दा फखर जमानले ४० रनको योगदान दिए ।
यस्तै पाकिस्तानका हुसेन टलट ३१ रनमा अविजित रहदा आसिफ अलिले अविजित २५ रन जोडे । वेष्ट इन्डिजका रायद एम्रिट र ओडेन स्मिथले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि आन्द्रे फ्लेटचरले ५२ रनको अर्धशतकीय पारी खेल्दा दिनेश रामडीनले अविजित ४२ रन जोडे । यस्तै मार्लोन स्यामुएल्सले ३१ रन बनाए । वेष्ट इन्डिजलाई मध्यम स्कोरमा रोक्न शादब खानले २ तथा उस्मान खान,फाहिम आश्रफ र मोहमद नवाजले समान १ – १ विकेट लिए ।
टि – ट्वान्टी सिरिज अन्तर्गत पाहुना टोली वेष्ट इन्डिजलाई पाकिस्तानले पहिलो खेलमा १४३ रनले पराजित गरेको थियो । यस्तै सोमबार भएको दोस्रो टि – ट्वान्टी पाकिस्तानले ८२ रनको जित दर्ता गरेको थियो ।


