Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पसल शिलबन्दीको विरोधमा नयाँदिल्ली बन्द

Loading

नयाँदिल्ली,चैत ।
सरकारी अनुगमन टोलीले पसलहरुमा शिलबन्दी गरेको विरोधमा व्यापारीहरुले भारतको राजधानी नयाँदिल्लीको बजार आज बन्द गराएका छन् । यसका साथै व्यापारीहरुले रामलीला मैदानमा व्यापारीहरुको शक्ति प्रदर्शन पनि हुँदैछ । कनफेडरेशन अफ अल इन्डिया ट्रेडर्स (क्याट) र व्यापारी एवं वर्कर्स एसोसिएशनको संयुक्त आयोजनामा बन्द तथा र्‍याली आह्वान गरिएको हो । सिल गरिएको विरोधमा दिल्लीका करिब २ हजार ५ सयभन्दा बढी बजारमा लाखौं पसलहरुको सटर बन्द गरिएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसका साथै व्यापारीहरुले ठाउँ ठाउँमा र्‍याली निकाल्दै धर्ना र प्रदर्शन पनि गरिरहेका छन् ।
स्थानीयस्तरमा प्रदर्शन गरेपछि सबै ब्यापारीहरु रामलीला मैदानमा जम्मा भएर सिलबन्दीको विरोधमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । सरकारको विरोधस्वरुप व्यापारीहरुले बुधबार आफ्ना बालबच्चालाई स्कुल कलेजमा समेत पठाएका छैनन् । क्याटका महासचिव प्रवीण खण्डेवालले भनेका छन्ः‘हाम्रो उद्देश्य सरकारलाई यो सन्देश दिनु हो कि यदि एउटा पसल सिलबन्दी हुन्छ भने यसबाट २० घरको चुल्हो प्रभावित हुन्छ ।’
बुधबार दिल्लीका प्रमुख बजारहरु मसलन कर्नाट प्लेस, चाँदनी चोक, करोल बाग, सदर बजार, कमला मार्केट, चावडी बजार, कश्मिरी गेट, खारी बाबली लगायत बन्द छन् । सिमेन्ट, छड, हार्डवेयर, मेसिनरी, कागज एवं स्टेशनरी, रबर आदिसँग सम्बन्धित संगठनहरुले पनि बन्दमा समर्थन जनाएका छन् । साथै २० औद्योगिक क्षेत्र र २० हजार ढुवानी व्यवसायीहरुले पनि बन्दमा समर्थन जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed