![]()
बीबीसी । अप्रत्यासित रूपमा बेइजिङ पुगेका उत्तर कोरियाली उच्च अधिकारी अरू कोही नभइ सर्वोच्च नेता किम जङ अन नै भएको अड्कलबाजी भइरहेको छ।
सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो। दक्षिण कोरियाले ती अधिकारीको पहिचान थाहा हुन नसकेको बताएको छ। तर ‘सावधानीपूर्वक अवस्थालाई नियालिरहेको’ उसले जनाएको छ।
सन् २०११ मा सत्ता सम्हालेयता किमको पहिलो विदेश भ्रमण हुनेछ। यो बिषयमा चीन अथवा उत्तर कोरियाले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर किमको भ्रमणलाई महत्त्वपूर्ण विकासक्रमको रूपमा हेरिन सक्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना भेटवार्ताका लागि किमले अनपेक्षित रूपमा पठाएको निमन्त्रणा स्वीकार गरेका थिए। र, जटिल कूटनीतिक आवश्यकताहरू पूर्तिका लागि अधिकारीहरूले पर्दा पछाडि काम गरिरहेको विश्वास गरिएको छ। त्यसअघि उत्तर कोरियाली र चिनियाँ नेताहरूबीच भेटवार्ता हुन सक्ने विश्लेषकहरूले बताएका छन्।
चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो।


