![]()
बीबीसी । वयस्क चलचित्रकी एकजना अभिनेत्री स्टोर्मी ड्यानियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग असुरक्षित यौन सम्र्पक भएको अर्को सनसनी खुलासा गरेसंगै ह्वाइट हाउसले खण्डन गरेको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको वयस्क चलचित्रकी एकजना अभिनेत्रीसँग सम्बन्ध रहेको भन्ने आरोपहरू अस्वीकार गरेको हो ।
सीबीएस न्यूजको ’सिक्स्टी मिनेट्स’ कार्यक्रममा अभिनेत्री स्टोर्मी ड्यानियल्सले सन् २००६ मा ट्रम्पसँग सम्बन्ध भएको भन्दै विस्तृत रूपमा बताएकी छन्।
तर ह्वाइट हाउसले ड्यानियल्सले आफ्नो अन्तर्वार्तामा गरेका कुनै पनि दावी तथ्यपरक नभएको जनाएको छ । ट्रम्पका वकिलहरूले ड्यानियल्सले कुराहरू सार्वजनिक नगर्ने सम्झौता तोडेको भन्दै उनीबाट २ करोड डलर क्षतिपूर्तिको माग गरेका छन्।
आइतवार राति प्रसारित अन्तर्वार्तामा ३९ वर्षीया ड्यानियल्सले सन् २०१६ को राष्ट्रपतीय चुनाव हुनु केही समयअघि ट्रम्पका वकिल माइकल कोअनबाट ’कुराहरू सार्वजनिक नगर्ने सहमतिस्वरूप’ १ लाख ३० हजार डलर पाएको बताएकी थिइन्।
राष्ट्रपति ट्रम्पले सहमतिमा हस्ताक्षर नगरेकोले त्यो अवैध रहेको भन्दै ड्यानियल्सले उनीविरूद्ध मुद्दा हाल्न लागेकी छन्। आफ्नो मुद्दामा कोअनलाई विपक्षी बनाउन लागेको ड्यानियल्सले उल्लेख गरेकी छन्।
रकम दिइएको कुरा सार्वजनिक गरेर कोअनले आफ्नो मानहानी गरेकाले उनलाई विपक्षी बनाउन चाहेको ड्यानियल्सको भनाइ छ।
ड्यानियल्सले चाहिँ आफ्नो परिवारको सुरक्षाबारे चिन्ता लागेर ’कुराहरू सार्वजनिक नगर्ने सहमतिस्वरूप’ रकम लिने सहमतिमा हस्ताक्षर गरेको बताएकी छन्।


