![]()
बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले उत्तर कोरिया संसारकै लागि ठूलो त्रास भएको बताएका छन । जापान भ्रमणमा रहेका पूर्व राष्ट्रपति ओबामाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा भने– ‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।’ उनले भने, ‘हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरु र धम्कीका बारेमा सुनेका छौँ तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौँ । ’
राष्ट्रपति ओबामाले भने– ‘उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ, तर समस्या समाधानका लागि कुनै एकमात्र देशले केही गर्न पनि सक्दैन ।’
ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले दिए । यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनको भनाइ थियो ।


