![]()
एजेन्सी । ‘फेसबुक’ बिश्वमै सर्वाधिक प्रयोग हुने समाजिक संजाल हो । अमेरिकामा फेसबुक प्रयोगकर्ताका प्रोफाइल अवैधानिक रुपमा हासिल गरी चुनावमा हस्तक्षेप गरेको आरोप लागेपछि फेसबुकले ठूलो कानूनी संकटको सामना गर्नु परिरहेको छ ।
अमेरिकी राष्ट्रपति चुनावका समयमा ट्रम्पको सहयोगका लागि निर्मित ‘क्याम्ब्रिज एनालिटिका’ नामक डाटा फर्मले यस्तो गरेको आरोप छ । अहिले चलिरहेको फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको छ ।
यसबारे शुक्रबार नै फेसबुकले क्याम्ब्रिज एनालिटिकलाई ब्लक गरिसकेको बताएको छ । तर फेसबुकले दाबी गरेपनि लन्डनस्थिति सो डाटा फर्मले फेसबुकको नीतिलाई उल्लंघन गर्दै हासिल गरेका डाटाहरु अझै डिलेट नगरेको पत्ता लागेको छ । अर्कोतर्फ फेसबुक र एनालिटिक दुवैले भने आफूमाथिका सबै आरोप गलत रहेको ठहर गर्दै आएका छन् ।
यी सबै अवस्थाबारे जानकार रहेका जुकरवर्गले यसअघि नै आगामी दिनहरुमा यस्तो हुन नदिन यसवर्ष फेसबुकमा ठूलो सुधार ल्याउने वचन दिएका थिए । तरपनि यस मुद्दाले ठूलो रुप लिँदै जाँदा जुकरवर्ग अहिले भने यसबाट टाढै रहने कोशिश गरिरहेको बताइएको छ ।
यसरी फेसबुकका डाटा लगायत जानकारीहरु अत्यन्तै संवेदनशील तरिकामा राजनीतिक प्रचारका लागि दुरुपयोग भएको अनुसन्धानले देखाएपछि भने जुकरवर्गलाई यस मुद्दामा आफैँ अघि आएर स्पष्टिकरण दिन कानूनी निकायले आग्रह गरेको छ ।


