Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बीबीसी । यसै महिनाको शुरूमा मुसलमान समुदायविरूद्ध हिंसाका गतिविधि भएपछि श्रीलंकामा लगाइएको संकटकाल त्यहाँको सरकारले हटाएको छ ।

देशको मध्य भागमा पर्ने क्याण्डी शहरमा भएका हिंसाका क्रममा कैयौँ मानिसहरूले ज्यान गुमाएका थिए । सयौँको संख्यामा मुसलमानहरूको स्वामित्वमा रहेका व्यापार गृह र मस्जिदहरू ध्वस्त हुने गरी वा क्षति हुने गरी आक्रमणहरू गरिएका थिए।

हिंसा नियन्त्रण गर्न सैनिक परिचालन गरिएको थियो भने सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। संकटकाल घोषणा गरिएपछि श्रीलंका फेरि अधिनायकवादी शासन व्यवस्थामा फर्कने हो कि भनेर चर्चा पनि गरिएका थिए।

कट्टरपन्थी बौद्धमार्गी समूहका कारण सन् २०१२ देखि बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको श्रीलंकामा हिंसा बढिरहेको ठानिन्छ। उनीहरूले मुसलमानहरूले मानिसहरूलाई इस्लाम धर्म अंगाल्न दबाब दिएको र प्राचिन बौद्धस्थलहरूमाथि तोडफोड गरेको आरोप लगाउने गरेका छन्।
संकटकालको आदेश जारी भएपछि श्रीलंकाली अधिकारीहरूले संन्दिग्धहरूलाई आवश्यकता अनुसार गिरफ्तार गरी लामो समय थुनामा राख्न पाएका थिए। क्याण्डी क्षेत्रमा सयौँको संख्यामा फौज परिचालन गरिएको थियो र सरकारी कर्फ्यु उल्लंघन गर्दै जम्मा भएका मानिसको हुलमाथि अश्रु ग्यास प्रहार गरेका थिए।

राष्ट्रपति सिरिसेनाले आइतवार सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर संकटकाल हटाउने निर्णय गरेको जानकारी दिएका थिए। अघिल्लो हप्ता फेसबुकसहितका सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्ध हटाइएका थिए।
पछिल्लो संकटकाल श्रीलंकाले सात वर्षमा पहिलो पटक लगाएको थियो।

सन् २००९ मा तमिल विद्रोहीहरूसँगको गृहयुद्ध अन्त्य हुनुभन्दा अघि झण्डै तीन दशकसम्म श्रीलंकामा संकटकालको अवस्था रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed