![]()
काठमाडौ,चैत ।
सहमतिविपरीत एकतर्फी रूपमा कार्गो शुल्क वृद्धि गरेको आरोप लगाउँदै व्यवसायीहरूले विहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने आयात निर्यात ठप्प पारेका छन् । कार्गो शुल्क निर्धारणका लागि गठन गरिएको समितिको सुझावलाई बेवास्ता गर्दै नयाँ शुल्क निर्धारण गरिएकोले आयात निर्यात रोकिएको उनीहरूको दाबी छ ।
विमानस्थलमा कार्गो व्यवस्थापनको जिम्मा पाएको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले बुधबार एक सूचना प्रकाशित गरेर शुल्क वृद्धि भएको जनाएको थियो । बिहीबारदेखि वृद्धि भएको शुल्क कार्यान्वयनमा आउने सूचनामा उल्लेख भए पनि कार्गो व्यवसायमा संलग्न व्यवसायीले उक्त निर्णय नमान्ने घोषणा गरेका हुन् ।
कार्गो व्यवसायमा संलग्न दशवटा विभिन्न सङ्घ, संस्थाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै समितिले गत वैशाखमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको संशोधित दर कार्यान्वयन नभएसम्म र बुधबार बढाइएको शुल्क फिर्ता नभएसम्म विमानस्थल भन्सार कार्यालयमा हुने आयात निर्यात ठप्प पार्ने निर्णय गरेको हो ।


