![]()
काठमाडौ,चैत ।
संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो ।
कांग्रेस नेता बालकृष्ण खाँडले ९ चैतमा बस्ने केन्द्रीय समिति बैठकपछि छाया सरकार गठन गरिने जानकारी दिए । उनले भनेः‘ ९ चैतमा केन्द्रीय समिति बैठक बोलाइएको छ, छाया सरकारका लागि सो बैठकमा आवश्यक छलफल हुन्छ, संसदीय दलको नेता देउवाकै नेतृत्वमा छाया सरकार बन्छ ।’
कांग्रेसले बनाउने छाया सरकारमा क्याबिनेटमा रहने मन्त्रालय र मन्त्रीबराबरकै मन्त्री रहनेसमेत खाँडले जानकारी दिए । उनले अगाडी भनेः‘ क्याबिनेटमा जति मन्त्रालय र मन्त्री रहन्छन्, त्यति नै बराबर छाया सरकारमा समेत मन्त्री तोकिन्छन्, मन्त्रीका सहयोगी सदस्यसमेत रहनेगरी कामको जिम्मेवारी दिइन्छ ।’
नेता भीमसेनदास प्रधानले छाया सरकारको नेतृत्वमा दलको नेता आफैं प्रधानमन्त्री रहने र प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालयको विज्ञताको आधारमा मन्त्रीको जिम्मेवारी दिने जानकारी दिए ।


