![]()
बीबीसी । ब्रिटेन सरकारले ७ करोड डलर लगानी गरेर एउटा नयाँ रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोल्ने घोषणा गरेको छ।
आधुनिक प्रतिरक्षा कार्यक्रमको एउटा हिस्साको रूपमा यो केन्द्र दक्षिणी ब्रिटेनस्थित पोर्टन डाउनमा स्थापना हुनेछ। पूर्व रुसी जासुस सरगेई स्क्रिपालमाथि आक्रमण गर्न प्रयोग गरिएको स्नायुप्रणालीमा असर गर्ने रसायनको पहिचान गर्न वैज्ञानिकहरूले उक्त केन्द्रमा मद्दत गर्नेछन्।
ब्रिटेन सरकारले रासायनिक अस्त्रको खतरा रुसबाट मात्रै नभई उत्तर कोरियाजस्ता देशबाट पनि भएकोबारे सचेत गराउने तयारी गरेको छ। सावधानी स्वरूप हजारौँ ब्रिटिस फौजलाई छालामा असर गर्ने एन्थ्र्याक्स नामक संक्रमणविरुद्ध खोप लगाइने छ।
पोर्टन डाउनस्थित सैन्य अनुसन्धान प्रयोगशाला खासगरी सुरक्षा फौज र सर्वसाधारणलाई रासायनिक र जैविक हमलाबाट जोगाउनका लागि निर्माण गरिएको हो।


