Breaking News.... EverestOnlineKhabar
June 5, 2026

झलनाथले देखाए बिशाल हृदय, निरंकुश ओली, लोभीपापी नेपाल र गौतम

Loading

काठमाडौं । नेकपा एमालेमा राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने चर्चामा दुई नाम थिए–बर्तमान राष्ट्रपति बिद्या भण्डारी र वरिष्ठ नेता झलनाथ खनाल । अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीले भण्डारीलाई दोहर्याउन चाहेका कुरा उनी निकट नेताहरुले सार्वजनिक मात्र गरेका थिएनन भण्डारी नै राष्ट्रपति हुने दाबी गरेका थिए । तर, पार्टीका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा चुनावकै बेला आफना मतदातासामु आफू राष्ट्रपतिको उम्मेदवार भएको बताइसकेका थिए । यो कुरा उनले बिभिन्न सार्वजनिक कार्यक्रममा दोहर्याउँदै मुलुक र जनताका लागि आफू राष्ट्रपति बन्न तयार रहेको प्रष्ट पारेका थिए ।

वरिष्ठ नेता खनाललाई एमाले भित्रै माधव नेपाल र बामदेव गौतम समूहको समर्थन थियो । यो कुरा उनीहरुले खनाललाई भेटेरे आश्वस्त तुल्याउनुकासाथै सार्वजनिक कार्यक्रममा पनि खनाल राष्ट्रपति हुँदा मुलुक र जनताका लागि बढी फाइदा हुने बताउने गरेका थिए । राष्ट्रपति बिद्या भण्डारीले शीतल निवासमा बसेर गुट चलाएकोमा उनीहरुको बढी आक्रोश थियो । यस्तोमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य पनि थपिएका थिए ।

तर, राजनीति फोहरी खेल हो भन्ने पुनः एकपटक सावित भएको छ । ज–जसले खनाललाई राष्ट्रपति बन्न उक्साइरहेका थिए तीनै व्यक्ति अन्तिम समयमा पल्टिए अर्थात अध्यक्ष ओलीको आश्वासन र प्रलोभनमा चुर्लुम्मै डुबे । सबैभन्दा अचम्म त माधव नेपाल र बामदेव गौतम नै ओलीको प्रलोभनमा परे । माधव नेपाललाई पार्टी एकतापछि अध्यक्षका लागि सघाउने बचन ओलीले दिएका छन भने गौतमलाई प्रतिनिधि वा राष्ट्रियसभामा ल्याउने आश्वासन दिएका छन । सोमबार साँझसम्म खनालका नाममा अडिग देखिएका नेपाल र गौतम राष्ट्रपतिको उम्मेदवार छान्ने मंगलबार बिहानबाटै बदलिसकेका थिए । अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बोलाइएको थियो तर नेपाल र गौतमको मनस्थिति बिहानै परिवर्तन भैसकेको थियो । यसमा ओलीको निर्देशनमा ईश्वर पोखरेल, बिष्णु पौडेल, शंकर पोखरेल, बिष्णु रिमाल र प्रदीप ज्ञवालीले चौबिसै घण्टा अनवरत प्रयास गरेको देखिन्छ । उनीहरुले यो बीचमा दर्जनौ पटक नेपाल र गौतमसंग भेट गरेका प्रमाणहरु बिस्तारै खुल्न थालेका छन ।

राष्ट्रपतिको उम्मेदवार छान्ने दिन स्थायी कमिटी बैठकअघि अध्यक्ष ओलीले पार्टीका सिनियर नेताहरुलाई बालुवाटार बोलाए । सो बैठकमा झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम उपस्थित थिए । ओलीले राष्ट्रपतिमा बिद्या भण्डारीलाई दोहर्याउने कुरा सोही बैठकमा स्पष्ट गरिसकेका थिए । नेता खनालले आफू राष्ट्रपतिको प्रबल दाबेदार रहेको र यो कुरा चुनावकै दिनबाट भन्दै आएकाले आफनाबारेमा पार्टीले बिचार गर्नुपर्ने राय राखेका थिए । तर, खनालको पक्षका भनिएका नेपाल र गौतम यो बिषयमा मौन रहे । नेता खनालले नेपाल र गौतमको मौनता र बडी ल्याङग्वेजबाटै बुझिसकेका थिए–‘साथीहरु बिकेछन । ’

अपरान्ह ४ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक साँझ ६ बजेसम्म लम्बियो । प्रधानमन्त्री ओलीले माधव नेपालको जन्मदिन भन्दै केक काटे र आफैले नेपाललाई केक खुवाए । त्यसअघि प्रतिनिधिसभा बैठकमा पनि ओलीले आफनो सट्टा बोल्न दिएर नेपाललाई ललिपप ख्वाइसकेका थिए ।

झ्वाम्मै राती भयो । स्थायी कमिटी सदस्य सबै जुटे । प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा बिद्याको नाम प्रस्ताव गरेपछि अष्टलक्ष्मी शाक्यले ठाडो प्रतिवाद गरिन ।

शाक्यले भनिन् ‘म समर्थन गर्न सक्दिनँ, तपाईं पार्टीमा महिलाको कुरा गर्नुहुन्छ तर के पार्टीमा महिला विद्या मात्रै हुन् ?’
‘विद्याका लागि आज मात्रै ५ घण्टा छलफल भयो । तर, मेरा लागि कति घण्टा छलफल गर्न तपाईं तयार हुनुभयो ? के मेरो पार्टीमा कुनै योगदान छैन ? मलाई हराउन तपाईं आफै लाग्नुभयो, यो पार्टीमा अन्याय बढ्यो । हुँदाहुँदा म प्रदेश इन्चार्ज छु, प्रदेशमा मन्त्री बनाउने विषयमा पनि हस्तक्षेप गर्नुभयो । यस्तो अन्याय सहेर पार्टीमा कति बस्नु ? उनले प्रश्न तेस्र्याइन् ।

शाक्य एकोहोरो बोलिरहे पनि अरू कसैले त्यसबेलासम्म बोल्ने साहस गरेनन् ।

बैठक चलिरहदा बाहिर निस्केर अज्ञात व्यक्तिसंग फोनमा झुण्डिएका नेता नेपाल बैठकमा प्रवेश गरेपछि एकाएक माहोल फेरियो । उनी खुलेरै भण्डारीको पक्षमा बोले । सुरुमा अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति आलोचना गरेपनि राष्ट्रपतिका बिषयमा भने उनी भण्डारीका पक्षमा देखिए । मदन भण्डारीको पनि सम्मान हुने, पहिलो कार्यकाल निर्बिवादरुपमा पूरा गरेकाले उनलाई दोहर्याउँदा राम्रै हुने राय उनले राखेका थिए । नेता नेपाल बोलेपछि भीम रावलले पनि नेपालको जस्तै घुमाउरोरुपमा भण्डारीको समर्थन गरे ।

राष्ट्रपतिमा खनालको पक्षमा खुलेर लागेका बामदेव गौतम बैठकमा खनालको पक्षमा खुल्न सकेनन । उनी मौन बसिरहे ।
उपमहासचिव घनश्याम भुषाल र सचिव योगश भट्टराईले भने प्रधानमन्त्री ओली र उनी पक्षधर नेताहरुलाई र्याखर्याख्ती पारे । भुषालले खनाल नहुने भए अष्टलक्ष्मी शाक्यलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए । तर, उनको कुरा कसैले नसुनेपछि उनले मौखिक नोट अफ डिसेन्ट राखेका छन ।

सचिव भट्टराई भने प्रधानमन्त्री ओली र शंकर पोखरेलप्रति निकै खनिए । उनले राष्ट्रपति भण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भण्डारीलाई नै दोहर्याउन खोज्ने प्रधानमन्त्री ओली लगायतको समूहलाई भन्नुसम्म भने ।

बैठकमा सचिव भट्टराईले अध्यक्ष ओलीमाथि प्रश्न गरे, ‘पार्टी कसरी चलाउनुहुन्छ ? कार्यकारी प्रमुख भइसकेको व्यक्ति राष्ट्रपति हुन नहुने हो भने हिजो गिरिजाप्रसादलाई किन बनाउन खोजियो ? सुशील कोइरालालाई राष्ट्रपतिको अफर गर्ने तपाई केपी ओली कामरेड नै होइन ? अहिले पार्टी एकता गरिरहँदा प्रचण्ड राष्ट्रपति हुन तयार भएको भए हामी मान्थ्यौं कि मान्दैनथ्यौं ?’

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले विद्या भण्डारीको पक्षमा बोल्दै भने, ‘विद्याजीले २ वर्षमात्र संक्रमणकालमा काम गर्नुभयो । उमेर भर्खर ५४ र ५५ वर्ष छ । अहिले नै विदा गर्दा अन्याय पनि हुन्छ । एक कार्यकाल पूरा गर्न दिउँ ।’

पोखरेलको जवाफमा योगेशले भने, ‘उमेरको कुरा गर्ने हो भने, उहाँ ५ वर्षपछि ६० वर्ष हुनुुहुन्छ । सक्रिय राजनीतिमा फर्किने भनेर उहाँको सचिवालयलाई हबाला दिँदै समाचार आएको छ, फेरि पनि उहाँ दुई कार्यकाल राष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किन समय छँदैछ ।’

भट्टराई र भुषालले जति गरे पनि सकेनन । वरिष्ठ नेता नेपाल र गौतमले नै कित्ता परिवर्तन गरेको प्रत्यक्ष देखेपछि नेता खनालले आफू अडानबाट फिर्ता भएको घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed