Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । केही बर्षयता देखि मुलुकमा माहोल यस्तो बनेको छ कि प्रा.डा. गोविन्द केसीबिरुद्ध कसैले बोल्ने आँटै गर्न सक्दैनन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की हुन वा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली वा त्रिबि चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी हुन वा त्रिबि पदाधिकारी हुन वा अरु जो कोही, उनको अगाडि पराजित भए ।

डा.केसीको पछाडी एउटा ठूलै भीड र शक्ति लाग्ने गर्दछ । जब उनी बोल्दछन उनको बोलीमा लोली मिलाउँदै त्यो समूह सडकदेखि केसीको अनसनसम्म पुग्ने गर्दछ । जसले डा.केसीको बिरोध गर्यो यो समूहले त्यसको उछित्तो नै काट्ने गर्दछ । अब केसीसहित यो समूहको परीक्षाको घडी पनि आएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा समेत कार्यरत प्रा.डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरेर अराजकता फैल्याएको आरोपसहित नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव विपिन ढकालले आइतवार केसीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । केसीविरुद्धको उजुरी अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा आइतवार दिउँसो दर्ता भएको उजुरीको नम्बर १२३९६ रहेको छ । ढकालले अख्तियारमा दर्ता गरेको उजुरीमा केसीले सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरेकाले उनीमाथि छानबिन गर्न माग गरेका छन् ।

चार बुँदे उजुरीमा उनले पहिलो नम्बरमै डा. केसी सरकारी सेवामा हुँदा हुँदै पनि सेवाबाट बिमुख भई अस्पतालमा उपलब्ध हुने सेवा समेत प्रभावित हुने गरी सडक आन्दोलन गर्ने तथा सर्वोच्च अदालत तथा प्रधानन्यायाधीशको मर्यादा र गरिमामा आँच आउने क्रियाकलाप गरेको आरोप लगाइएको छ ।

त्यसैगरी दोस्रो नम्बरमा शैक्षिक प्रमाण पत्र तथा सेवा आवेदन लगायतका विभिन्न ठाउँमा फरक फरक जन्म मिति राखेर अनुचित लाभ लिएको आरोप पनि उजुरीकर्ता ढकालले केसीमाथि लगाएका छन् ।

तेस्रो बुँदामा ऐन कानुन भन्दा माथि आफूलाई देखाएर कानुन र विधिको शासनको धज्जी उडाएको आरोप पनि केसीलाई लगाएको छ । चौथो तथा अन्मित बुँदामा सरकार र सरकारी संयन्त्रलाई कमजोर देखाउन परिचालित भएको तथा विभिन्न निकायको क्षेत्राधिकारमा समेत हस्तक्षेप गर्ने खालका अभिव्यक्ति दिएको आरोप ढकालले केसीमाथि लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed