![]()
बीबीसी । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्ष्विहीन भएको छ ।
बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित हुन नसकेको हो । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ ।
युद्धविराम सम्बन्धमा स्वीडेन र कुबेतका तर्फबाट पनि एउटा प्रस्ताव पेश भएको थियो । तर रुसले यो प्रस्तावमा संशोधन गर्नुपर्ने जनाएको छ ।
यो प्रस्तावले रुसको समर्थन पाएको सिरियाली सरकारमाथि दबाब बढ्ने उसले जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले पेश भएको प्रस्ताव संघर्ष रोक्ने वास्तविक उद्देश्यले आएको हुनुपर्ने बताए ।
सिरियाली सरकारले विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा पछिल्ला पाँच दिनदेखि लगातार बमबारी जारी राखेको छ । बमबारीमा परेर अहिलेसम्म ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघले गुटामा ३ लाख ९३ हजार मानिस फसेको जनाएको छ


